
नन्दलाल आचार्य
”त्यो खिया लागेको ढोका बाहिर यमराज मुस्कुराइरहेको छ, बाबु, तिमी भित्रै बस !” हजुरआमाको यो कामेको आवाज सुन्नेबित्तिकै नाति समीरको मुटु ढ्याङ्ग्रो झैँ बज्न थाल्यो । तर त्यतिबेला पाटनका पुराना गल्लीहरू आज अस्वाभाविक रूपमा शान्त थिए, तर त्यो शान्तिभित्र एउटा भयानक आँधी लुकेको थियो । छिमेकीको आँगनमा एउटा विभत्स चिच्याहट सुनियो । खबर फैलियो- “उन्मत्त मान्छेले दाजुभाइमाथि खुकुरी प्रहार गरेर सडकमा निस्कियो रे !” कौतुहलता थेग्न नसकेर समीरले झ्यालको एउटा सानो प्वालबाट बाहिर चिहायो । एउटा अजङ्गको मान्छे, हातमा रगत लतपतिएको खुकुरी नचाउँदै उसको घरतिरै दौडिँदै थियो । समीरका साना गोडाहरू डरले गले । उसले सोचेको थियो- के अब यो संसारका सबै मान्छे राक्षस बन्न लागेका हुन् ? के अब कोही पनि बचाउन आउँदैन ? ठीक त्यति नै बेला, एउटा नीलो बर्दीधारी आकृति बिजुली चम्किएझैँ त्यस आततायीको अगाडि उभियो । ती एक महिला प्रहरी थिइन् । उनले आफ्नो ज्यानको प्रवाह नगरी, त्यस रगतले तिर्खाएको खुकुरीको अगाडि आफूलाई ढाल बनाइन् । मान्छेहरू बन्द झ्यालका चेपबाट रमिता हेरिरहेका थिए, तर कसैको पाइला अघि बढेन । ती महिला जवानले अदम्य साहसका साथ त्यो अपराधीलाई चिलले मुसो झम्टेझैँ झम्टिएर भुइँमा पछारिन् । समीरको मानसपटलमा ती महिला प्रहरी कुनै लोककथाकी ‘सुपरवुमन’ भन्दा कम देखिइनन् । उनको अनुहारमा डर होइन, एउटा अनौठो दृढता र चमक थियो, जसले अँध्यारो गल्लीलाई आशाको उज्यालोले भरिदिएको थियो । जब ती प्रहरीले अपराधीलाई हत्कडी लगाएर डोर्याउँदै लगिन्, समीरले एउटा लामो र सुरक्षित सास फेर्यो । उसले भित्तामा झुण्डिएको आफ्नो खेलौनाको तरबार निकालेर कसिङ्गरको टोकरीमा फालिदियो र हजुरआमाको काखमा टाँसिदै मुसुक्क हाँसेर भन्यो- ”हजुरआमा, राक्षसलाई मार्न खुकुरी नै बोक्नु पर्दैन रहेछ, काँधमा अलिकति जिम्मेवारी, पाखुरीमा अलिकति हिम्मत र मनमा अरूको सुरक्षाको जिम्मेवारी भए पुग्दो रहेछ !”





