
सुमन कडरिया
चितवन
विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो।
एक शिक्षकले प्रधानाध्यापकसामु भने – “सर, क ,ख समेत छुट्याउन नसक्ने विद्यार्थी पनि त पास गरिएको छ ।”
प्रधानाध्यापक मुस्कुराए,“त्यो उनीहरूको कमजोरी होइन, हाम्रो उदार कक्षोन्नति नीति हो।”
अर्का शिक्षकले विडम्वना पोखे -“पाँच ,दस नम्बर मात्र ल्याउनेलाई समेत उत्तीर्ण गर्नु परेको छ ।”
पहिलो शिक्षकले हात उठाउँदै प्रश्न गरे – “अनि केही पनि नजान्नेहरूलाई के पो गर्नु होला ?”
प्रधानाध्यापकले मन्द मुस्कानमा भने ,“उनीहरूलाई फेल गराएर मनोबल घटाउने कि केही नम्बर थपेर भविष्य उज्ज्वल बनाउने ? आखिर राज्यको नीति पनि त अनुत्तीर्ण नगर्ने छ।”
सभाहलमा गडगडाहट ताली बज्यो। त्यहाँ , अब कसैको अनुहारमा प्रश्न थिएन । सबैका मुखाकृतिमा सहमति झल्किन्थ्यो।
प्रधानाध्यापकले गर्वका साथ नतिजा प्रतिवेदन प्रस्तुत गरे , “यस वर्ष हाम्रो विद्यालयको उत्तीर्ण प्रतिशत निकै माथि पुगेको छ। यो शिक्षाको गुणस्तर सुधारिएको प्रमाण हो।”
सभाहल तालीले गुञ्जियो।
सूचना पाटीमा नतिजा टाँसियो, ‘यस वर्ष हाम्रो विद्यालयबाट ९० प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। सबैलाई हार्दिक बधाई!’
नतिजा हेर्दै एक विद्यार्थीले साथीलाई सोध्यो, “हामी साँच्चिकै पास त भयौँ नि, हैन ?”





