सन्दर्भ वालदिवस

राजन् कार्की पाजु
धरान सुनसरी
कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ? चमेलीले छोरीलाई भान्सावाट कराई।
“म भाइसँग खेल्दै छु, आमा !” कौशिलाले भनी।
“पर्दैन खेल्न, यहाँ मुन्टी !” “खेल्दै गर् है भाइ !” भन्दै रहर सबै भाइलाई छोडेर, कौशिला भान्सामा आएर भाँडा माझ्न थाली!
“आमा !आज बालदिवस रे ! सर मिसले आउनु भन्नु भा छ ! भाइलाई लिएर स्कुल जान्छु है ?” कौशिलाले आमासँग नम्र भावमा स्वीकृति मागी।
“तँ किन जान पर्यो ?आज शनिवार तँ नगय पनि हुन्छ, भाइ मात्र जान्छ, तँ बाख्रा चराउन लैजा!” चमेलीले कर्कश स्वरमा भनी।
खाना खाएर भाइ स्कुल गयो, आँखाले भ्याऊन्जेल कौशिलाले भाइलाई हेरिरही,भाइ रुन्चे अनुहारले दिदीलाई वाई ! गर्दै आँखावाट ओझेल भयो। कौशिला बाख्रा खोलेर चराउन हिँडी।
वेलुका सबै जम्मा भए।
“दिदी, दिदी ! हेर्, मैले के ल्याएको छु !” स्कुलवाट आउनासाथ भाइ खुसीले नाच्दै दिदी छेउ आयो र एउटा खाम दिदीलाई देखाउँदै भन्यो!
मानौँ,खुसीले उसका, भैँमा खुट्टा थिएनन्।
खुसी हुँदै कौशिलाले खाम समाउन हात के फैलाएकी मात्र थिई, “”खै हेरुम् के रैछ ! भन्दै चमेलीले छोराको हातवाट हठात् खाम खोस्दै खोलेर हेरिन्। खाम भित्र पाँच सय पच्पन्न रूपैयाँ राखिएको थियो खुसी हुँदै छोरालाई भनिन्-“तैँले आज बालदिवसमा पाएको पुरस्कार होला यो स्यावास छोरा!”
छोरोले दिदी तर्फ इंगित गर्दै नम्र शैलीमा भन्यो, “हैन आमा, अस्ति स्कूलमा भएको नाँच प्रतियोगितामा दिदी प्रथम भएकी रैछ, आज बालदिवसको अवसरमा दिदीलाई दिएको पुरस्कार हो यो !”





