Categories: विविध

उपमन्युको परीक्षा

 

एकदिन ऋषि धौम्यलाई के मनमा आएछ, उनले आफ्ना अर्का शिष्य उपमन्युलाई डाकी पठाए । उपमन्यु उनका सामु उपस्थित भएपछि उपाध्यायले आदेश दिदै भने “आजदेखि गोरक्षाको जिम्मा तिमीलाई सुम्पें ।” उपमन्युले आज्ञा शिरोपर गरे। त्यस दिनदेखि उनले गाई चराउने र तिनको सेवा र टहल गर्ने काम नबिराई गर्न थाले ।
उपमन्यु दिनभरि गाई चराएर साँझ आश्रममा फर्केपछि गुरुलाई नमस्कार गर्दथे। यो उनको दैनिक नियम नै थियो । एकदिन त्यसैगरी उपमन्युले नमस्कार गरेपछि ऋषिले सोधे “पुत्र उपमन्यु, तिमी अचेल के खान्छौ तिम्रो शरीर निकै पुष्ट देख्दछु ?”
उपमन्युले भने ” म भिक्षा मागेर आफ्नो जीविका निर्वाह गर्दछु ।”
ऋषिले भने “अबदेखि मेरो आज्ञाविना भिक्षाको अन्न नखानू ।”
उपमन्युले- “हवस्” भनेर सन्ध्यावन्दनमा लागे ।
केहीदिन बितेपछि एकदिन पुनः ऋषिले सोधे:”उपमन्यु तिम्रो भिक्षाको सारा अन्न त अचेल म लिने गर्दछु अनि तिमी के खाएर निर्वाह गर्दछौ त ?”
उपमन्युले करबद्ध भएर भने “पहिलो पटकको भिक्षा तपाईलाई दिएपछि म फेरि दोस्रो पटक भिक्षा माग्न हिँड्दछु । मेरो जीविका त्यसैबाट चल्दछ ।”
“अहं, गुरुकुलमा बस्नेले त्यसो गर्नु उचित हुँदैन” उपाध्यायले भने “तिमीले दोस्रो पटक भिक्षा माग्दा अन्य शिष्यहरूले भिक्षा प्राप्त गर्न कठिन हुन्छ । तिमी लोभी रहेछौ ।”
उपमन्युले क्षमायाचनाको स्वरमा भने “अबदेखि यस्तो गर्ने छैन, प्रभु ।”
यसरी केही दिन अझै बिते । एकदिन फेरि उपमन्युले सन्ध्या नमस्कार गरेपछि गुरुले भने”पुत्र उपमन्यु ! तिम्रो सारा भिक्षा म लिने गर्दछु । त्यसमाथि अब त तिमी दोस्रो पटक भिक्षा पनि माग्न जाँदैनौ । तैपनि म तिमीलाई हृष्टपुष्ट देखिरहेको छु। यसको रहस्य के होला ?”
उपमन्युले त्यसपछि सत्य स्विकार्दै भने “भगवन् म गाई चराउन जाँदा यिनै गाईहरूको दूध दुहेर खान्छु ।””ए !” धौम्यले भने र एकछिन सोचे। त्यसपछि फेरि आदेश दिए “मेरो आज्ञाविना अब त्यसरी दूध नखानू ।”उपमन्युले प्रतिज्ञा गरे । उनी अबदेखि त्यसरी दूध खाने छैनन् ।
धेरै दिन बितेपछि उपाध्यायले उपमन्युलाई पहिलेजस्तै हृष्टपुष्ट देखेर भने “सुन उपमन्यु, तिमी भिक्षान्नको भोजन गर्दैनौ, अर्कोपटक भिक्षा माग्दैनौ, गाईको दूध पनि खाँदैनौ तैपनि पुष्ट छौ भने मलाई बताऊ अब तिमी कसरी आफ्नो भोक मेट्दछौ ?”
धौम्यले यस्तो. प्रश्न गरेपछि उपमन्युले भने, “बाच्छाहरू आफ्ना माउको स्तन चुस्ता दूधको फिंज निस्कन्छ,म त्यही चाटेर आफ्नो जीवन धान्दछु ।” ”
यस्तो सुनेर उपाध्यायले भने “ती गुणी र बुझ्झकी वाच्छाहरू तिमीमाथि दया गरेर आवश्यकताभन्दा अधिक फिंज झार्दछन्, यसबाट तिनले चाहिँदो मात्रामा दूध खान पाउँदैनन् । त्यसकारण अबदेखि तिमीले फिंज खानु पनि अनुचित मान्नु पर्दछ ।”
“अबदेखि यस्तै हुनेछ” भन्दै उपमन्यु त्यहांबाट हिँडे ।
त्यसदिनदेखि उनी निराहार बसेर गोरक्षा गर्न थाले । गुरुले निषेध गरेका हुनाले उनले केही खान सकेनन्। तर पेटले के मान्थ्यो ? उनको भोक बढ्दै गयो । एकदिन भोकले पीडित भएपछि उनले यताउति हेरे । त्यहाँ सिउँडीको बिरुवा रहेछ । केही नपाएर तिनले त्यही सिउँडीको पात चपाए, किनभने भोकले गर्दा तिनी आकुलव्याकुल भएका थिए ।
तर त्यो पात चपाउनासाथ उपमन्युले एक्कासि आफ्ना आँखाको ज्योति गुमाए। उनी नेत्रहीन भएर वनमा बाटो खोज्दै हिँड्न थाले। तर बाटो पाउनु त कहाँ हो कहाँ, उनी त्यसो गर्दागर्दै एउटा इनारमा पो खसे ।
यता उपमन्यु समयमा नफर्केपछि ऋषिले आफ्ना अन्य शिष्यहरूलाई भने:मैले उनलाई सबै प्रकारका भोजन गर्न निषेध गरेको थिएँ। त्यसले गर्दा उनलाई रिस उठ्‌यो होला, त्यसैले गर्दा उनी अहिलेसम्म फर्केनन् ।”
यति भनेर आफ्ना अन्य शिष्यहरूका साथै उनी वनतिर लागे। वनमा गएर बोलाउन थाले “हे उपमन्यु ! तिमी कहाँ छौ ? हे पुत्र, यहां आऊ ।”
उपमन्युले गुरुको पुकार सुने। अनि उनी इनारभित्रबाटै चिच्याए “हे उपाध्याय म यस इनारभित्र खसेको छु ।”उपाध्यायले सोधे “तिमी कसरी इनारभित्र पर्यौ ?”
उपमन्युले भने “सिउँडीको पात खाएर म अन्धो भएको छु। त्यसले गर्दा वाटो देखिन र यो इनारमा खसें ।”उपाध्यायले भने “अब तिमी दुई अश्विनीकुमारहरूको स्तुति गर । ती देउताहरूका चिकित्सक हुन् तिनीहरूले तिमीलाई अवश्य पनि नेत्र प्रदान गर्नेछन् ।”
यति भनेर उपाध्याय हिँडे । त्यसपछि उपमन्युले नाना प्रकारले अश्विनीकुमारको वन्दना गरे । उनको स्तुतिले प्रसन्न भएर अश्विनीकुमार त्यहाँ प्रकट भए र भने- “हामी तिम्रो स्तवन सुनेर प्रसन्न भयौँ ।” त्यसपछि एउटा बोहोतामा पुवा दिएर भने- “यो पुवा लेऊ र खाऊ ।”
उपमन्युले भने – “तपाईहरू कहिल्यै मिथ्या हुनुहुन्न, तर म गुरुलाई समर्पित नगरी यो पुवा खान सक्तिन ।”
अश्विनीकुमारले भने “पहिले पनि तिम्रा गुरुले हाम्रो स्तवन गरेका थिए । हामीले प्रसन्न भएर यसैगरी पुवा दिएका थियौं । उनले त आफ्नो गुरुलाई समर्पित नगरेरै खाएका थिए । त्यसकारण तिम्रा गुरुले जस्तो गरेका थिए, तिमी पनि त्यस्तै गर । त्यसमा केही हानि छैन ।”
यो सुनेपछि उपमन्युले भने “हे अश्विनीकुमार। फेरि पनि तपाईहरूलाई विनयपूर्वक भन्दछु, म गुरुलाई समर्पित नगरी यो पुवा खान असमर्थ छु ।”
यो सुनेपछि अश्विनीकुमारले भने “तिम्रो यस्तो गुरुभक्ति देखेर हामी अति प्रसन्न भयौँ।तिम्रा गुरु धौम्यका फलामका दांत छन्। अब तिम्रा सुनका दांत हुनेछन् अर्थात् तिमीलाई तिम्रा गुरुको भन्दा पनि बढी ज्ञान प्राप्ति हुनेछ।
अश्विनीकुमारको त्यस्तो वरदान पाएपछि उपमन्युले आफ्ना गुरु धौम्य छेउ गएर सम्पूण वृत्तान्त बयान गरे । अश्विनीकु‌मारद्वारा उनले पुनः आफ्नो नेत्रज्योति प्राप्त पनि गरिसकेका थिए । गुरुलाई सबै करा भनेपछि गुरुले भने “जाऊ, अश्विनीकुमारले भनेअनुसार तिम्रो कल्याण हुनेछ । तिमीलाई सम्पण वेदको ज्ञान हुनेछ ।”
यसरी गुरुभक्त उपमन्युको परीक्षा भयो, जसमा उनी सफल भए।

श्रोत ः फेसबुक वाल

सारथि बाल पत्रिका

View Comments

  • Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

22 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

23 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

23 hours ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago