
दिनेश निरौला
चिसंखुगढी१, ओखलढुंगा
गाईजात्राकै दिन सत्र वर्षे नातिले हजुरबुबा चक्रप्रसादलाई सोध्यो, “हजुरबुबा, २००७ सालदेखि राजनीति देख्दै आउनुभयो रे, कस्तो थियो त त्यो बेलाको नेपाल ?”
चक्रप्रसाद मुसुक्क हाँसे, “त्यतिबेला प्रजातन्त्रको सपना देखिन्थ्यो बाबु।”
“अनि सपना पूरा भयो ?”
“भयो नि! त्यसपछि फेरि नयाँ सपना देखाइयो—राजतन्त्र, प्रजातन्त्र, पञ्चायत, बहुदल, गणतन्त्र… सपना बदलिँदै गए, सपना देखाउनेहरू चाहिँ उही अनुहारका नयाँ पोसाकमा आए।”
नातिले आँखा ठूलो पार्दै भन्यो, “हजुरबुबा, अब मेरो सपना पनि छ।”
“के सपना?”
“म नेता बन्ने!”
हजुरबुबा झसङ्ग भए। “किन?”
“देश बनाउने।”
चक्रप्रसाद जोडले हाँसे, “देश बनाउने हो कि आफैँ बन्ने ?”
“पहिला आफ्नो घर, त्यसपछि अरु ।”
“त्यसपछि?”
“त्यसपछि पार्टीको कार्यालय!”
“त्यसपछि?”
“त्यसपछि सरकारी गाडी!”
“अनि देश ?”
नाति केही बेर चुप लाग्यो। मुसुक्क हाँस्दै भन्यो, “देश त हजुरबुबा, चुनावको घोषणापत्रमा बनाइहाल्छु नि!”
चक्रप्रसादले निधारमा हात राखे।
“बाबु, तेरो सपना सुन्दा मलाई २००७ सालदेखि आजसम्मको इतिहास फेरि दोहोरिएजस्तो लाग्यो।”
नातिले उत्साहित हुँदै सोध्यो, “त्यसो भए मेरो सपना राम्रो रहेछ ?”
हजुरबुबाले गम्भीर हुँदै भने, “राम्रो त छ… तर एउटा कुरा बाँकी छ—तँ नेता बनेपछि तैले देशलाई सपना देखाउने कि देशले तँलाई?”
नाति हाँस्यो।
गाईजात्राको भीड पनि हाँस्यो।
चक्रप्रसाद भने रोए— किनकि उनलाई थाहा थियो, यो पटक पनि गाईजात्रा एक दिनको मात्र हुने छैन।





