
देव भट्टराई
कलम अनि मसी हुन् देवतातुल्य मेरा।
असल अनुजजस्तै प्रेमधारा पँधेरा॥
हरदिन यिनबाटै मिल्छ खाना र नाना।
अतिशय फलदायी सिर्जनाका खजाना॥
सितिमिति दुनियाँले भन्छ के को र आहा!
कससित क्षमता के ? हुन्न हेरेर थाहा॥
प्रतिनिधि कसको को ? सत्य के हो विचार?
कलबल, छल छोडी काम नि:स्वार्थ सार॥
तन अनि मन मिल्दा साथ पक्का भएको।
मजबुतपनले हो साल सख्वा भएको॥
छलफल किन गर्ने ? बातको लागि बात।
रविकिरण फिँजाई ढाल्नुपर्नेछ रात॥
नजिकिन गइहाल्यो शानले त्यो दिगन्त।
परिचितसरि बन्दै छेउ आकाश सन्त॥
अपरिमित दुरीले सत्य छर्लङ्ग पार्यो ।
परपर सरिहाल्यो जोडिएको नकार्यो॥
हरबखत दुवैले साथ दिन्छन् मलाई।
भरअभर हुँदैनन् कोखका दाजुभाइ॥
दुखसुख नबुझेको नामको मात्र साथी-
अलिकति थप पाए दाममा बिक्छ राति॥
श्रम, कलम, मसीको, शारदाको कृपाले।
मसित छ अहिले जे पाखुरीको बुताले॥
अनुसरण यिनैको गर्छु मैले सदैव।
बुझ र भन न साथी सत्य के हो तथैव॥





