किसान


हेमराज अधिकारी

बजारको एक कुनामा बढरे माइला ओइलाउन लागेको स्कुसका टुप्पा मिलाउँदै बसिरहेका थिए। बिहानदेखि धेरै ग्राहक आए, मूल्य सोधे, मुख बङ्ग्याए र फर्किए।
एउटा शहरिया ग्राहकले बिटोतिर औँला देखायो।
“यो कति?”
“तीस रुपैयाँ।”
“एउटा बिटोको तीस ? दसवटा डाँक्ला पनि छैनन् ! साह्रै महँगो रहेछ।”
बढरे माइला हल्का मुस्कुराए।
“बीउ खोज्नुपर्छ, माटो जोत्नुपर्छ, मल हाल्नुपर्छ, असिनाबाट जोगाउनुपर्छ। यो मूल्य स्कुसको मात्र होइन, पसिनाको पनि हो हजुर।”
ग्राहक हाँस्यो।
“पसिनाको पनि मूल्य हुन्छ र ?”
ऊ पल्लो पसलतिर लाग्यो। त्यहाँ झन् ओइलाइसकेको बिटो चालीस रुपैयाँमा बेचिँदै थियो। ऊ झस्कियो। तरकारी नकिनीकन फर्कँदा बाटोछेउ एउटा एम्बुलेन्स रोकिएको देख्यो। केही गाउँलेहरू चन्दा उठाइरहेका थिए।
“के भयो?” उसले सोध्यो।
“बढरे माइलाकी श्रीमतीलाई अस्पताल लैजानुपर्यो।”
कसैले भन्यो। “डाक्टरले तुरुन्त पैसा चाहिन्छ भनेका छन्।”
उसको नजर अनायासै त्यतैतिर गयो। केही बेरअघि तीस रुपैयाँका लागि तर्किरहेका बढरे माइला आफ्नो स्कुसको बिटो आधा मूल्यमा बेच्दै थिए।
“लानुस् दाइ, पन्ध्रमै लानुस् आज पैसा चाहिएको छ।”
त्यही स्कुस, त्यही पसिना, त्यही किसान।
फरक यति मात्र थियो,अहिले आवश्यकता किसानको थियो।
ग्राहकले खल्तीबाट पैसा निकाल्दै गर्दा महशुस गर्यो,बजारमा स्कुस महँगो थिएन।
महँगो त अस्पताल थियो, औषधि थियो, जीवन थियो।