“शक्तिशाली नेपाली”


गणेश आत्रेय,
मदनपोखरा,पाल्पा

बिहान चाँडै उठेर
कोदालो हलो बोकेर
खेतमा पुग्ने किसान
श्रम हो जस्को निसान॥

खेत र बारी जोतेर
पसिना सीप पोखेर
बनाई मेलो रोप्दछन्
कामको माचो छोप्दछन्॥

पानी र मल गोडाई
चाँजो र पाँजो मिलाई
फसल फल फलाउँछन्
प्रकृति माता सह्राउँछन्॥

पशु र पन्छी पालेर
दूध दही मही पारेर
घिउ र माछा मासुले
रमाउँछन् खुसी हाँसोले॥

संसार पाल्छन् बँचाउँछन्
किसान सान कमाउँछन्
खेताला ज्यामी सिकर्मी
मजदुर सारा श्रम-धर्मी॥

उद्यम पौरख गर्ने यी
राष्ट्रलाई उँभो लग्ने यी
क्रान्ति र शान्ति छर्नेछन्
जीवन जगत् भर्नेछन्॥

साहस हिम्मत सँगाली
साहित्य भाषा कला ली
संस्कृति रीति सँभाल्ने
छन् शक्तिशाली नेपाली॥