
सुरेशकुमार पाण्डे
“बाबा हामी कता हिंडेका हौँ ?”- बाह्र वर्षको नाति तेजुले नमराजसँग सोध्यो । “तेजु आज यो दिनको बारेमा तिमीलाई थाहा छ ?”-नमराजले प्रतिप्रश्न गर्यो। “नाई मलाई त थाहा छैन । के दिन होर बाबा ?”-तेजुले जान्न खोज्यो।” आज कुशे औँसीको दिन हो। आजको दिन सबैले आ आफ्ना बाबाको अनुहार हेर्छन्। अनि बल्ल केही खान्छन्।”-नमराजले आफ्नो छोरालाई सम्झाउँदै भने। ” त्यही त मैले बिहानै हजुरलाई उठाएको हुँ । तर अहिले हामी कता जादै छौँ त ?”-तेजुले निदार खुम्चाउँदै सोध्यो। आज हामी तिम्रो हजुरबा अर्थात् मेरा बाबाको पास जादै छौँ उहाँसँग आशीर्वाद लिन।”- नमराजले खुसी प्रकट गर्दै भने। “बाबा हजुर बाबा कहाँ हुनुहुन्छ ?”- तेजुले जान्न खोज्यो।” बृद्धाश्रममा हुनुहुन्छ। “- नमराजले भन्यो। तर हाम्रो आमाले त हजुर बाबाको मृत्यु भयो भन्नुहुन्थ्यो त ! “-तेजुले मुस्कुराउँदै भन्यो। उनीहरू कुरा गर्दै वाइकमा गुडेका थिए। केही पर पुगेपछि नमराजले वाइक कुनामा उभ्यायो। “हिँड भित्र म बाबालाई यो सल ओडाइ दिन्छु तिमीले फोटो खिचिहाल।”-नमराजले तेजुलाई सम्झाउँदै भन्यो। ” हस् बाबा “- तेजुले पनि सटिकमा उत्तर दियो। उनीहरू भित्र पुगे। नजिकै नमराजका बाबा बसेका थिए। तर उनी कत्ती पनि खुसी थिएनन्। बरू मनराजलाई देखेपछि उनको अनुहार अँध्यारो भएको महशुस गर्न सकिन्थ्यो। नमराजले फोटो खिच्न भने र आफूले बाबालाई सल ओडाउन थाले। तेजुले धेरै फोटो खिच्यो। “बाबु तिमीले पनि मसँग फोटा खिचाउ।”-हजुर बाले नातिलाई अँगालो पार्दै भने। उसले पनि हजुर बा सङ्ग फोटो खिच्यो। एकछिन पछि उनीहरू फर्किए। बाहिर आएर तेजुले बृद्धश्रमको फोटा खिच्यो। “छोरो तेजु किन बृद्धाश्रमको फोटा खिचेको नि ?”-नमराजले सोध्यो। ” पछि हजुरलाई यहाँ छोड्नु पर्यो भने सजिलो हुन्छ नि बाबा मलाई।”-तेजुले प्याच्च भन्यो।





