
सोम कुमार सुब्बा
लिङ्दोक,पूर्व सिक्किम
साँझपख आमा आइन्। घरको गारोमा डोको ठह्र्याइन् र “खुइय्य” गर्दै पेटीमा बसिन्।
उनी सब्जी बेच्न बजार गएकी थिइन्। उनको आहट सुनेर छोरा,छोरी र रोगी पति बाहिरिए।
उनले निधारको पसिना पछ्यौरोले पुछेपछि डोकोभित्रको पोको निकालेर खोलिन्। छोरोलाई बनियान,छोरीलाई जामा र पतिलाई चप्पल दिइन्। तीनैजना खुसी भए, आआफ्नो सामान पल्टाइ पल्टाइ हेर्न थाले।
केहिबेरपछि तीनैजनाले उनलाई श्रद्धाको भावले हेरे, उनलाई अझ धेर खुसी देखे। तीनैजनाले शङ्कास्पद दृष्टिले पोको हेरे, खाली देखे, डोको हेरे, रित्तो देखे। अन्त्यमा उनलाई नियाले, कुनै नयाँ वस्त्र देखेनन्,न त गहनानै देखे।
“आमा,तपाईँले के किन्नु भो र हामी भन्दा धेर खुसी हुनुहुन्छ ?”
“बाबू , मैले तिमीहरूको अनुहारमा खुसी किनेँ।” भन्दै आमाले खुसीको आँसु पुछिन्।





