“खुसी”


ह्रदय लेखाली

आयो भाइ विदेशबाट अहिले साह्रै खुसी भित्रियो
ठूलो ताप थियो परन्तु अहिले साँच्चै खुसी भित्रियो
बर्सौसम्म निधार भाइ उसको खाली थियो दूरमा
सम्झी भाइ फिरेछ आज घरमा राम्रो भयो लौ अब।

हामी भाइ दिदी मिलेर अब यो मान्छौँ तिहारै यहाँ
साटासाट खुसी सबै दिलभरी लिन्छौँ मिलेरै यहाँ
भो भो भाइ नजा तँ निर्मम बनी छाडेर आफ्नो घर
अर्काको छ पराइ देश जहिले लाग्दो छ ठूलो डर।

पुर्खाको पसिना सुगन्धमय यो बारी र टारी अब
आफ्नो पौरखले बनाउ गतिलो के हुन्न राम्रो सब
धेरै वर्ष भयो विदेश रहँदा सप्रेन तिम्रो घर
यो आफ्नो घर बन्छ भाइ गतिलो आफू बसेमा घर।

प्यारो आँगन माइती घर छ यो मेरो सधैँ सम्झना
बाआमा पछिको छ भाइ मुटुमा गाह्रो छ यो बिर्सन
तिम्रै लागि म उन्छु यो मखमली माला यिनै हातले
प्यारो भाइ म राख्न पाउँ दिलमा साँचो खुसीसाथले।

आफ्नो जीवन मूल्यहीन दुखको पारेर बस्छौ किन
बर्सेनी घरमा छ चाङ रिनको सुल्झेन खासै किन
बाआमा घरमा अनेक पिरमा ए भाइ बुझ्ने गर
छाडी देउ विदेश त्यो मुलुकनै आफ्नो बनाऊ घर।

यी आफन्त छिमेक गाउँ घरमा भेटिन्छ आफ्नो पन
जस्तो कष्ट परे नि भाइ सबले राख्छन् दयाको मन
आफ्नो ठाउँ न त्याग भाइ मनले माटो यही भन्दछ
हाम्रा चाड दशैँ तिहार सबले सन्देश यो छर्दछ।