
हरिशरण ढुङ्गाना
दसैं आयो तिहार आयो
नाना किन्या खै
बिदा भयो घरै छु म
मिठो खाना खै
रोटे पिङ लिङ्गे पिङ
खेल्न पर्ने खै
सबै जना घरै बसी
चाड मान्या खै
आफू पनि खेल्नु छैन
मलाई पनि खै
आकाशमा रङ्गीचङ्गी
चङ्गा उड्या खै
दसैं बिदा भन्ने मात्र
दसैं मान्या खै
तिहारमा द्यौसी भैलो
खैल्नुपर्छ है
भन्ने मात्र सधैं उस्तै
तयार गर्या खै
बाबा आमा दाजुभाइ
घरमा रङ खै
रातो माटो कमेरो सब
कहीं छैन खै
यति लामो चाडबाड
मनाएको खै
मोबाइलमा घोप्टिरहने
दसैं ल्याएको खै
हजुरलाई खुसी होला
मलाई खुसी खै !





