
शशी अर्याल
काठमाडौं
मौसम सधैंजसो केही न केही चकचक गरिरहन्थ्यो । कक्षाका साथीहरूलाई कुनै न कुनै किसिमले सताइरहन्थ्यो। “सर, मौसमले मेरो किताब च्यातिदियो । म्याम, मौसमले मेरो होमवर्कमा केरिदियो । मौसमले मेरो खाजा पोखिदियो । मौसमले मलाई डल्ले भन्यो ।” उसका बारेमा साथीहरूले गर्ने यस्ता गुनासा सामान्य थिए । ऊ चार कक्षा पुगिसकेको थियो । तैपनि छुच्याईँ गर्न भने कम भएको थिएन।
सुमन तीन दिनदेखि विद्यालयमा अनुपस्थित थियो । कक्षा शिक्षकले उसकी आमालाई फोन गर्नु भयो । “हेलो, नमस्कार । म सुमनकाे कक्षा शिक्षक । ऊ तीन दिन भैसक्यो स्कुल नआएकाे, किन हाेला ?” फाेनमा उत्तर आयाे – “अब सुमन त्याे स्कुल आउँदैन । कक्षाकाे माैसम भन्ने बच्चाले सुमनलाई केटी भनेर जिस्क्याउँछ रे । अरू बच्चाहरू पनि गलल्ल हाँस्छन् रे । म त त्याे स्कुल जान्न भन्छ । रून्छ । अस्ति भर्खर भर्ना गरियाे । पाेशाक हालियाे। किताब कापी पनि किनियाे । अब के गर्ने ? ब्रतबन्ध अगाडि कपाल काट्न पनि मिल्दैन । छाेरालाई सधैं रूवाउँदै स्कुल पठाउन पनि सकिँदैन ।” यति भनेर सुमनकी आमाले फाेन राखिदिनु भयाे।
कक्षा शिक्षकले सबैले सुन्ने गरी कक्षाबाटै फाेन गर्नु भएकाे थियाे । माैसमकाे अनुहार कालाे निलाे भयाे। क्षमायाचनाले भरिएकाे उसकाे आँखा भरि आँसु टिलपिलाइरहेकाे थियाे।





