गीत


दुर्गा घिमिरे

विद्यालयमा हरेक शुक्रबार विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन हुने गर्थे। त्यो हप्ताको कार्यक्रम गीत प्रतियोगिता थियो। धेरै विद्यार्थी सहभागी भएकाले विद्यालयको वातावरण निकै उत्साहपूर्ण बनेको थियो।
कार्यक्रम सुरु भएपछि विद्यार्थीहरू एकपछि अर्को गर्दै मञ्चमा उक्लिन थाले। कोही लोकगीत गाइरहेका थिए, कोही आधुनिक गीत। निर्णायक मण्डल ध्यानपूर्वक सबैको प्रस्तुति सुन्दै थियो।
त्यही प्रतियोगितामा श्रेय पनि सहभागी थियो। उसले गाएको गीत अरूभन्दा फरक र देश–रूपान्तरणको भावनाले भरिएको थियो। गीत सकिएपछि हलभरि तालीको गडगडाहट गुञ्जियो—
“कोही त भने—
चमेली जहाजमा हरर,
कोहीको भने चमेली पसिना तरर।”
केहीबेरपछि नतिजा घोषणा भयो—
“यस वर्षको गीत प्रतियोगितामा प्रथम हुने विद्यार्थी हुन्—श्रेय।”
श्रेय केही क्षण अचम्मित भयो। उसले यस्तो परिणामको कल्पना पनि गरेको थिएन।
कार्यक्रमपछि निर्णायक मण्डलका एक गुरु उसँग आए। मुस्कुराउँदै उनले भने,
“बाबू, देशमा अझै साँचो प्रजातान्त्रिक परिपाटी बलियो भएको छैन। अधिकारका लागि बोल्ने यस्ता गीतलाई सम्मान गर्नुपर्छ। एक दिन यही देशमा परिवर्तनको लहर उठ्नेछ, अनि धेरैले यही गीत गाउनेछन्।”
श्रेयले नम्र स्वरमा भन्यो, “सर, मैले त मनमा लागेको कुरा मात्र गाएको हुँ।”
गुरु गम्भीर हुँदै बोले, “साँचो गीत त्यही हो—जहाँ स्वरभन्दा भाव ठूलो हुन्छ।” श्रेय मुस्कुरायो।
त्यो दिन उसले बुझ्यो— गीत केवल मनोरञ्जन होइन, समाजको यथार्थ बोल्ने अभिव्यक्तिको माध्यम पनि हो।
उ खुशी हुँदै बाटो लाग्यो। पछाडि फर्केर हेर्दै गुरु भविष्य खोज्न निस्किएको यात्रीझैँ उसलाई टाढासम्म हेरिरहनुभएको देखिन्थ्यो।