
मिस्मा राना
हाम्रो जीवनको मार्गनिर्देशन गर्ने, अन्धकारमा उज्यालो दिने, अज्ञानता हटाएर ज्ञानको प्रकाश छर्ने पात्र भनेकै गुरु हुन् । हाम्रा सपनालाई दिशा दिने, साँचो मार्ग देखाउने र सही संस्कार रोप्ने गुरुप्रति समर्पण गर्ने विशेष दिन हो, ‘गुरु पूर्णिमा’।
प्रत्येक वर्षको आषाढ शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वले शिक्षा, सम्मान र कृतज्ञताको भाव बोकेको हुन्छ । गुरु पूर्णिमा केवल धार्मिक पर्व नभई सामाजिक र मानसिक विकाससँग जोडिएको एक गहन संस्कार हो ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश दिने भन्ने संस्कृत व्युत्पत्ति अनुसार गुरु भनेको अज्ञानताको अन्धकार हटाएर ज्ञानको प्रकाश दिने व्यक्ति हुन् । गुरु न केवल शिक्षक हुन्, न त उपदेशक, उनी त जीवन निर्माणकर्ता हुन् ।
गुरुले विद्यार्थीमा ज्ञान भर्ने मात्र होइन व्यक्तित्व, सोच, संस्कार र मूल्य विकास गर्न समेत भूमिका खेल्छन् । उनीहरूसँगको सम्बन्ध केवल पाठशालासम्म सीमित छैन, जीवनको हरेक मोडमा गुरुको योगदान स्मरणीय हुन्छ ।
गुरु पूर्णिमाको ऐतिहासिक र धार्मिक महत्त्व अत्यन्त गहिरो छ । हिन्दु धर्म अनुसार यही दिन ‘महर्षि वेदव्यास’ जन्मिएका थिए, जसले वेदहरूलाई चार भागमा विभाजन गरे— ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद ।
ऋषिहरूकै योगदानका कारण वेदहरूको ज्ञान संरचित रूपमा आज हामीसँग छ । त्यसैले उनलाई ‘आदिगुरु’ पनि भनिन्छ र यही दिन ‘व्यास पूर्णिमा’को नामले पनि चिनिन्छ ।
बौद्ध धर्ममा पनि यही दिनलाई भगवान् बुद्धले आफ्नो पहिलो उपदेश दिएको दिनको रूपमा स्मरण गरिन्छ । उनले बोधगया पछिको पहिलो प्रवचन सारनाथमा दिएका थिए, जसले लाखौँ अनुयायीलाई मार्गदर्शन गर्यो ।
एक गुरु केवल किताबका अक्षर पढाउने व्यक्ति होइन, गुरु ती हुन्छन् जसले जीवन बुझाउने ज्ञान दिन्छन् ।
बच्चाको जीवनमा परिवारपछि सबैभन्दा धेरै प्रभाव पार्ने व्यक्ति भनेकै गुरु हुन् । सानो उमेरदेखि नै बच्चाहरू जिज्ञासु हुन्छन् ।
गुरुहरू जीवनका लागि आधारशिला हुन् । उनीहरूले शिष्यलाई सही मार्गमा हिँड्न सिकाउँछन्, अनुशासन सिकाउँछन्, परिश्रमको मूल्य बुझाउँछन् र आत्मविश्वासको निर्माण गर्छन् । गुरु भनेको विश्वासको दुस्साहसिक डोरी हो, जसमा समातेर हामी भविष्यतर्फ हिँड्ने हौँ ।
आज हामी जुनसुकै पेसा वा क्षेत्रमा लागौँ— डाक्टर, इन्जिनियर, नेता, लेखक वा वैज्ञानिक । हरेक क्षेत्रको सफलताका पछाडि कुनै न कुनै गुरुको योगदान अनिवार्य छ ।
गुरु शिक्षाको मात्र होइन, संस्कार र समाजको संरचनाको पनि निर्माता हुन् । उनीहरूले चरित्रवान् नागरिक निर्माण गर्छन् ।
गुरुले आफ्नो कर्तव्य इमानदारीपूर्वक पूरा गरे भने देशका लाखौँ युवा सही दिशातर्फ अघि बढ्न सक्छन् ।
आजको डिजिटल युगमा इन्टरनेट, युट्युब, एआई, अनलाइन क्लासहरूले शिक्षाको स्वरूप बदलिएको छ । विद्यार्थीले किताबभन्दा स्मार्टफोनमा बढी समय बिताउँछन् । यद्यपि गुरुको स्थान प्रविधिले लिन सक्दैन । प्रविधिले सूचनाहरू दिन सक्छ तर ज्ञानको अनुभव, संस्कार, भावना, आदर्श, व्यवहार र अनुशासन केवल मानव गुरुले नै दिन सक्छन् ।
गुरु केवल उत्तर दिन सक्ने व्यक्ति होइनन्, उनी प्रश्न गराउने प्रेरणा पनि हुन् । उनीहरूले सोच्न सिकाउँछन्, मात्र याद गर्न होइन ।
गुरु पूर्णिमाको दिन विद्यार्थीले आफ्ना गुरुलाई फूलमाला, टीका, अबिर, फलफूल आदिसहित पूजा गर्छन् । विद्यालयमा गुरु–सम्मान कार्यक्रम आयोजना हुन्छ । विद्यार्थीले कविता, निबन्ध, भाषण, गीत, नाटक आदिका माध्यमबाट आफ्नो गुरुप्रतिको प्रेम र कृतज्ञता व्यक्त गर्छन् । कतिपय स्थानमा ८८ व्यास पूजा ८८ पनि गरिन्छ ।
यस दिन विद्यार्थीले गुरुबाट आशीर्वाद लिएर ज्ञानमार्गमा अग्रसर हुने संकल्प गर्छन् ।
पुरानो समयको गुरुकुल प्रणालीमा विद्यार्थी जंगलमा बस्दै गुरुसँग जीवन बिताउँथे । शिक्षा मात्र होइन स्वावलम्बन, सेवा, अनुशासन, आत्मसंयम र त्याग सिकाइन्थ्यो ।
आजको युगमा गुरुकुल त हराउँदै गएको छ तर त्यो भावनात्मक सम्बन्ध जीवित रहन आवश्यक छ ।
हामी गुरुबाट पढेपछि कुनै विषयमा पास हुने मात्र होइन गुरुको अनुभवबाट व्यक्तित्वमा परिपक्वता ल्याउन सिक्नुपर्छ ।
गुरुविना ज्ञान अधुरो हुन्छ र ज्ञानविना जीवन अधुरो । गुरुले पढाउँदैनन् मात्रै, जीवन जिउन सिकाउँछन् ।
आज विकसित प्रविधिले ज्ञान दिन सक्छ तर बुद्धि र संस्कार गुरुले मात्र दिन्छन् । एक सच्चा गुरु त तपाईंको कमजोर पक्षलाई देखेर पनि तपाईंमाथि विश्वास राख्ने व्यक्ति हुन् ।
हाम्रा जीवनका हरेक मोडमा कहिल्यै थाक्नुनपर्ने, कहिल्यै हार नमान्ने, हामीलाई निरन्तर प्रेरणा दिने हाम्रा गुरुहरूलाई नमन । कसैले भनेका छन्—
संसारका सबै सम्पत्ति तिर्न सकिन्छ तर गुरुले दिएको ज्ञानको ऋण कहिल्यै तिर्न सकिँदैन ।
गुरु पूर्णिमा केवल पूजापाठ गर्ने दिन होइन यो दिन आफ्ना गुरुहरूलाई सम्झिने, सम्मान गर्ने र आफू अझ जिम्मेवार बन्ने संकल्प गर्ने दिन हो ।
आजको दिन हामी सबैले आफैँलाई पनि प्रश्न गर्नुपर्छ, के म मेरो गुरुले दिएको शिक्षा अनुसार बाँचिरहेको छु ?
होइन भने यही दिनबाट सुरु गरौँ । गुरुको आदर्शमा बाँच्ने, इमानदार र परिश्रमी बन्ने र भविष्यमा अरूका लागि गुरु बन्ने संकल्प गरौँ ।
गुरु पूर्णिमाको दिन हरेक हृदयमा श्रद्धा, हरेक आँखामा कृतज्ञता र हरेक कर्ममा शिक्षाको उज्यालो छरियोस् । गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण गुरुजनहरूलाई कोटिकोटि नमन तथा सम्मान।
(लेखक राना स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाकी कोषाध्यक्ष समेत हुन्।)
श्रोतः रातो पाटी





