
लक्ष्मीप्रसाद पौडेल
धनगढी, कैलाली
बाले बोकालाई रातो टीका लगाए । घाँटीमा रातो धजा बाँधे । घर छेउ मन्दिर थियो । नवरात्रको आठौं दिन महाअष्टमीको चहलपहल थियो । मन्दिरमा शंख घण्ट बजिरहेका थिए । केटाकेटीहरू रमाइरहेका थिए। बोका भने बारम्बार घरतिर हेरिरहेको थियो । उसले सम्झ्यो, ‘त्यो आँगनमा उसले पहिलोपटक पाइला टेकेको थियो । सानो छँदा एउटी बालिकाले उसलाई घाँस खुवाउँथी, घाँटी मुसार्थी र भन्थी, “मेरो सानु, मने !” त्यो बालिका उ पर उभिएर बोकालाई एकोहोरो हेरिरहेकी थिई । बोकाले उसलाई देख्यो । बिस्तारै घाँटी तन्कायो । बालिकाका आँखा रसाए । उसले बाको हात समातेर सोधी, “ड्याडी ! मनेलाई काटेर हामीले दशैं मनाउने हो ?” बा केही बोलेनन् । उनी बोकालाई पूजा गर्न मै व्यस्त रहे । पुरोहितले “अब बलि दिनुस् !” भने । दुईजनाले बोकाको खुट्टा ताने । बाले बोकाको शरीरमा पानी छर्किए । बोकाको आँखाबाट खसेका दुई थोपा आँसु पानी बनेर भुइँमा झरे । बालिकाले बोकाको आँखाबाट झरेको आँसु देखी । ऊ चिच्याई, ” ड्याडी ! बोका रोइरहेको छ । त्यसलाई नकाट्नुस् !” बालिकाको चिच्याहटले पुरोहितको मन्त्र रोकियो । बाले आमालाई कर्के आँखाले हेरे । आमाले बालिकालाई तान्दै भनिन् ” हिँड नानी ! हामी भित्र जाउँ ।” बोकाले आमाछोरी गएतिर हेर्न टाउको उठायो । त्यतिखेरै कसैले भन्यो, “ल, बोको मान्यो ! मार हान्नुस् ।”





