“घुमिफिरी रुम्जाटार”


श्यामप्रसाद श्रेष्ठ

“हे बाढी! तिमी आफ्ना पाइला रोक। हाम्रो बस्ती उजाड पारेर, खेतबारी र घरहरू बगाएर किन यस्तो विनाश मच्चाइरहेकी छौ?”
आफ्नो सर्वस्व गुमाएका मानिसहरू नदीको किनारमा उभिएर विलाप गरिरहेका थिए। एक जना मानिसले आक्रोशित हुँदै बाढीलाई प्रश्न गर्दा बाढी भने निरन्तर बग्दै मुस्कुराई र भनी, “हा…हा… मलाई किन दोष दिन्छौ मानव? मेरो जन्मस्थान हिमाल जाऊ। म त्यहीँबाट आएको हुँ। तिम्रो प्रश्नको उत्तर हिमालले दिन सक्छ।”
त्यो मानिस हतारिँदै हिमालको काखमा पुग्यो र भन्यो,“हे हिमाल! तिमीले नै बाढी पठाएर हाम्रो घर, खेतबारी र सपना सबै बगायौ। उसलाई रोकिदेऊ।”
हिमालले गहिरो पीडाका साथ मानवतिर हेर्दै भन्यो,“हे मानव! मेरो इच्छा त विनाश गर्ने थिएन। म त आफैँ परिवर्तनको पीडा सहिरहेको छु।”
“कस्तो पीडा सहिरहेका छौ? भन, तिमीलाई पीडा दिने को हो ?” मानिसले जिज्ञासा राख्यो।
हिमालले लामो सुस्केरा हाल्दै भन्यो,“मलाई यो अवस्थामा पुर्याउने अदृश्य शक्ति त्यो कार्बन हो। उसैसँग गएर सोध, किन मेरो अस्तित्वमाथि संकट आयो।”
मानिस रिसाउँदै कार्बनलाई खोज्न गयो। भेट्नेबित्तिकै उसले भन्यो,“ए कार्बन! तिमी नै सबैभन्दा ठूलो दोषी रहेछौ। तिम्रै कारण हिमाल पग्लियो, बाढी आयो र हामीले यस्तो दुःख भोग्नु पर्यो।”
कार्बनले विनम्र हुँदै हात जोडेर भन्यो,“हजुर! मलाई दोष नदिनुहोस्। म पनि परिस्थितिको परिणाम हुँ। मभन्दा ठूलो कारण अरू नै छ।”
मानिस झन् क्रोधित भयो,“को हो त्यो? भन! म त्यसलाई सजाय दिन्छु।”
कार्बनले शान्त स्वरमा भन्यो,“अत्यधिक वन विनाश, जीवाश्म इन्धनको अनियन्त्रित प्रयोग, उद्योगबाट निस्कने प्रदूषण, अनियोजित विकास र प्राकृतिक स्रोतको अन्धाधुन्ध दोहनबाट मेरो मात्रा बढेको हो। मलाई जन्माउने र बढाउने शक्ति अरू कोही होइन, स्वयं तिमी नै हो।”