दुर्गा घिमिरे
आज एस.एल.सी. नतिजा प्रकाशित भएको दिन थियो। स्कुलको सूचना पाटी अगाडि भीड लागेको थियो। मेरो नजर एउटै नाम खोजिरहेको थियो—उनी। “पास भइन्!” कसैले भनेको सुन्नासाथ मेरो मन ढुक्क भयो।
मनभित्र एउटा अनौठो गर्व र सन्तोषको लहर दौडियो। त्यही क्षण विगतका घटनाहरूले मलाई उद्वेलित बनायो।
कक्षा ८ मा पढ्दै गर्दा नै घरव्यवहारका कारण हाम्रो विवाह भएको थियो। बिहेमा मैले उनलाई राम्ररी चिन्ने मौका पाएको थिइनँ। पछि मात्र उनलाई लिएर घर फर्कँदै डाँडा बाटो पार गर्दा हामी खुलेर बल्ल कुरा गरेका थियौँ।
उकालो बाटोमा म असिनपसिन भएको थिएँ।
उनको पछ्यौराले मेरो पसिना पुछिदिँदा मैले हाँस्दै भनेको थिएँ— “माया लाग्छ…”
उनी लाजले रातो हुँदै भनीन्— “के गर्ने, दाजु–भाउजूले ‘पराइ मान्छेलाई माया गर’ भनेर पठाएपछि, लाग्दो रहेछ।”
अलि बेरपछि उनी फेरि बोलीन्— “अँ, साँचि! तपाईँ अस्ति हाम्रो विद्यालयमा आउनुभएको थियो रे ? मनमायाले भन्दै थिई—‘तेरो पोइ आएका थिए।’ सबैले जिस्क्याइरहेका थिए।”
मैले मुस्कुराउँदै भनेँ— “म तिम्रो पढाइको कुरा गर्न हेडमास्टरसँग गएको थिएँ। फि तिर्न पनि।”
त्यतिबेला उनको आँखामा आशा र विश्वासको चमक थियो।
उनी केही गम्भीर हुँदै भनीन्— “गाउँमा पढ्ने वातावरण राम्रो छैन… दाजुले मायाले सद्भाव देखाए पनि भाउजूको कर्कसो सहनुपर्छ।”
मैले उनको हात समाउँदै भनेँ— “अध्ययन सबैभन्दा ठूलो कुरा हो। तिम्रो लागि मेरो साथ सधैं रहन्छ। अब एक महिना मात्रै त हो—जति कष्ट आए पनि सहनु, सानु। त्यसपछि त सधैं सँगै बस्ने नै छौँ। बिहे नभएको भए पनि यत्तिकै संघर्ष त गर्नै पर्थ्यो नि!”
उनले केही नभनी टाउको हल्लाइन्। “हेर्नुहोस्, तपाईंकी श्रीमती टप भएकी छन्!”
स्कुलका एक शिक्षकको आवाजले म वर्तमानमा फर्किएँ।
मेरो आँखामा खुसीका आँसु टल्किए।
उनी टाढाबाट दौडिँदै आइन्—आज लाजले होइन, सफलताको उज्यालोले चम्किँदै।
“तपाईँले साथ नदिएको भए… म यहाँसम्म आइपुग्न सक्थेँ र ?” उनले भावुक हुँदै भनिन्।
मैले मुस्कुराउँदै भनेँ— “यो त तिम्रो मेहनत हो।”
उनी टाउको हल्लाउँदै भनीन्— “तर, बाटो देखाउने तपाईं हुनुहुन्थ्यो…”
म केही बोलिनँ। बस उनको खुसी हेरेर सन्तुष्ट भएँ।
जीवनको त्यो पुरानो घुम्ती पार गर्दा सुरु भएको हाम्रो यात्रा आज सफलताको नयाँ मोडमा आइपुगेको थियो।
साँचै—एक असल लोग्नेको साथ र मेहनत नारीको प्रगति र उन्नतिको आधार बन्न सक्छ।
सुयोग ढकाल हाम्रो पात्रो नयाँ वर्ष विक्रम संवत् २०८३ आजदेखि हाम्रा सामु उपस्थित भएको छ…
प्राशन्न धेरै पहिलाको कुरा हो एउटा कुशलपुर नाम गरेको शहर थियो। शहर एकदमै रमाइलो थियो…
नन्दलाल आचार्य गोलबजार, सिरहा "हेर्नुस् मास्टरजी, यो ढुङ्गाले कसरी सुन ओकलिरहेको छ !" स्कुल जाँदैगर्दा…
दुर्गा घिमिरे ‘जीवनको लक्ष्य’ विषयमा निबन्ध लेख्नु,” भनेर म कक्षाबाट बाहिरिएको थिएँ। भोलिपल्ट कपी उठाएर…