“ज्ञान”


कमल प्रसाद बगाले रेग्मी
वालिङ्ग बजार स्याङ्जा

“आज भोलि भाइको विषय बाट त मलाई अति नै गर्न लाग्नु भयो है मम्मी”रवीना रिसाउँदै भनिन्।
“किन तँलाई केको अप्ठ्यारो पर्यो र ? यति सानो प्यारो भाइको कुरा चल्ने बित्तिकै निकै रिसाउन पो थालिस है रवीना” मम्मी पनि निकै तातीन।
“तपाईँको लाड प्यारले यो बिग्री सक्यो, कसैले भनेको मान्दैन, केही भन्नै हुँदैन झगडा गर्न थाली हाल्छ, सधैँ उसैले जित्नु पर्छ,तपाईँले गलत भए पनि उसैलाई जिताउनु पर्छ, यो कस्तो तरिका हो मम्मी ? सानो छ भन्दैमा गलतलाई गलत राम्रोलाई राम्रो भन्न के हुन्छ र ?” रविना रुँदै चिच्याइन्।
“यो सानो छ, केही बुझेको छैन, तैँले त भाइलाई देख्नै सहन्नस किन हो ? यसको कुरा चल्यो कि तँलाई रिस उठी हाल्छ,एउटा भएको भाइलाई पनि कस्तो देख्न नरुचाएको हो ? अझ मेरो काखमा बसेको देखे यसलाई डाहा हुन्छ, यस्तो किन गर्छेस् रवीना?” मम्मी झन् कराइन्।
“निर्मला, रवीना सत्य साँचो बोल्दैछन् ,साँच्चै तिम्रो लाड प्यार र ममताले छोरालाई बिगारी सक्यौ,तिमीलाई यसको कुरा गर्नै हुन्न रिसाई हाल्छौ,यसले राम्रो गर्यो गरेन तिमीलाई थाहानै हुन् छाड्यो, सानो छ भन्दै गलत गरेर आउँदा पनि सधैँ यसैको पक्ष लिएर बस्छ्यौ ,कसैले भनेको नमान्ने,अटेर गर्ने,जेगरे पनि राम्रै मानेर बस्दा बानी व्यवहार बिग्रीसक्यो,अझै पनि तिम्रो आँखा खुलेन,अब त राम्रो नराम्रो देखाई दिने,गर्न हुने नहुने कुराहरूको ज्ञान दिनुको साटो अझै दिदी भाइलाई जिताउने हराउने खेल चलाउँदै छौ, अब तिमी आफैँ सच्चिने र सोंच्ने बेला आएको छ ।” बाबाले हाँस्दै लामो विचार राख्नु भयो।