
नरिश्वर गौतम
हटिगयो धुलोमैलो
छैन कतै फोहोर
रङ्गीचङ्गी बत्तीले
रङ्गिए गाउँशहर।।
देउसीभैलो घन्काउँदै
साथीभाइ परिवार
पाक्दैछन् घरघरमा
रोटीका परिकार।।
सेलरोटी अनरसा
अर्सा खुर्मा फिनी
सिङ्कमारी खजुरी
ठेकुवा र झिनी।।
काग कुकुर गोरु-गाई
लक्ष्मीको पूजा गरेर
दिदिबहिनी दाजुभाई
मनमा खुशी भरेर।।
झिलीमिली बिजुली
दियो बत्ती पालामा
मखमली फूलका
माला लगाई गलामा।।
सप्तरङ्गी टीकाले
रङ्गिएका निधार
बालक-वृद्ध रमाउने
रमाइलो पर्व तिहार।।





