देउसी


बलराम दंगाल
रत्ननगर,चितवन
हाल-अष्ट्रेलिया

“भन भन भाइ हो, देउसी रे!”
भाइटीकाको अघिल्लो साँझ। अष्ट्रेलिया होवार्डको चिसो हावामा मादलको ताल गुञ्जियो।
​ढोका बिस्तारै खुल्यो। नेपाली पहिरनमा सजिएकी एक अधबैंसे महिला मुस्कुराउँदै निस्किइन्।
“ए, आउनुस् न बाबुहरू! तीन वर्ष भयो, यो होवार्डको घरमा देउसीको आवाज सुन्नै पाइनँ।”
​देउसी भट्याउँदै गरेको जगमोहन एकछिन रोकियो।
“आमा, नेपालकै गाउँमा पुगे जस्तो भयो है!”
​“नेपाल कहाँ छुटेको छ र बाबु! आउनुस्।”
​भित्र टेबलभरि सेलरोटीको थुप्रो, अचार र बाफ आइरहेको चिया थियो।
“आमा, हामी त दक्षिणा लिएर जाने हो, यति धेरै…”
“दक्षिणा आफ्नो ठाउँमा छ नि बाबु। देउसी खेल्न आएकालाई नखुवाई पठायो भने तिहार कसरी हुन्छ?”
सबै हाँस्यौं। जगमोहनको नजर भने भित्ताको एउटा धमिलो तस्बिरमा अड्कियो — खरले छाएको घर, तुलसीको मठ र आँगनमा उभिएका केटाकेटी।
“यो तस्बिर…?”
महिला एकछिन मौन भइन्। सेलरोटीको थाल अघि सार्दै भनिन्, “मेरो माइतीघर। अहिले त्यो घर पनि छैन, आँगन पनि छैन।”
​“अनि गाउँ जान मन लाग्दैन?”
​उनले हाँसेर टारिन्, “मन नलाग्ने भए यो जाडोमा होवार्डमा बसेर को सेलरोटी पकाउँछ र बाबु!”
जगमोहनले एउटा टुक्रा मुखमा हाल्यो। ऊ चपाउनै सकेन। आँखा रसाए।
“के भयो बाबु, मिठो भएन?”
“मिठो भयो आमा… ठ्याक्कै मेरी आमाले पकाएको जस्तै।”
महिलाले केही बोलिनन्। उनले चुपचाप उसको निधारमा हात राखेर आशीर्वाद दिइन्।
बिदा हुने बेला एउटा सेलरोटी उसको झोलामा हाल्दै भनिन्, “लौ, यो आमालाई सम्झेर खानू।”
बाहिर निस्कियौँ। फेरि मादल बज्यो — “भन भाइ हो, देउसी रे!”
​होवार्डको शान्त र रमणीय सडकमा हिँड्दा जगमोहन केही बोलेन। धेरैबेरपछि उसले हातको त्यो सेलरोटीलाई हेर्दै भन्यो,
​“हामी विदेशमा घर त बनाउँछौँ, तर आफ्नो देशको आँगनचाहिँ कहाँ बनाउँछौँ होला?”