धनको दरबार


लक्ष्मी रेग्मी खनाल
वालिङ स्याङ्जा

“दशैँ आइसक्यो छोरा आँगन भरिएला कि जस्तो लागेको छ यो वर्ष ।” अमृतले मोबाइल हेर्दै भन्यौँ -“बा, अब त्यो पुरानो जमाना गए । चाडपर्वलाई यति महत्व दिने ? हजुरहरु हुदाँहुदै मैलै कति जिम्मेवारी लिने ? मुख हुदाँहुदै नाकले पानी खाएको सुहाउँदैन । म मेरै कामले व्यस्त छु ।” पण्डित साहिँला चुप लागे । आँखा रसाइरहेका थिए । सानी छोरी मायाले बाको हात समाउँदै भनी—”बा, मान्छेहरूको मन जित्न पैसाले पुग्दैन । यो कुरा दाजुलाई बुझाउन सके हुन्थ्यो ।” अमृत जेठो छोरा । बाउकै आर्शीवादले ब्याचलर पढेको । अहिले ठूला मान्छे भयो । गाडी, बंगला, बैँक ब्यालेन्स सबथोक थियो । उसलाई लाग्थ्यो -”धन नै जीवनको सार हो ।” ऊ बेला–बेलामा बाउलाई सम्झाउँथ्यो—”बा ! सम्पत्तिको अधिकार त मेरै हुनु पर्छ । तपाईँ बूढो हुँदै जानु भयो । म नै यहाँको जिम्मेवार हुँ । भाइबहिनीलाई दिँदा तपाईँलाई पच्छुतो हुन्छ ।” तर उसले न भाइबहिनीको शिक्षामा एक रुपियाँ लगानी गरेको थियो । न त बिहे दानमा नै ! बाले जम्मा गरेको धनसम्पति , लालपुर्जा धरि आफैँले बैंकमा राखी काम गरेको थियो । बिरामी आमा उपचार नपाएर पलंगमै थलिएकी थिइन् । आमाले एकदिन भनिन्—”छोरा, रोगी माया र स्याहारले बाँचिन्छ, सम्पत्तिले होइन ।” अमृतले सुने जस्तो गरेन । श्रीमती झन् घमण्डी । उनीले अमृतलाई भनिन् -“हजुरले बुबालाई मनले होइन, सम्पत्तिले बाँध्नुस् । सबै कागज आफ्नो नाममा पार्नुस् ।” समय बित्दै गयो । अमृत धनमा धनी हुँदै गयो । तर एक दिन दशैँ आयो । भव्य दरबार जस्तो बंगला सजायो । स्वादिला परिकार बनाए । तर बिहानदेखि साँझसम्म कोही आएन । भाइबहिनी, इष्टमित्र, ज्वाँइ, जेठान, भान्जाभाञ्जी सबै मौन । थकित भएर उसले बाको छेउमा गएर सोध्यो “बा, किन कोही आएनन् ? यस्तो चाडमा घर खाली …।” “छोरा, दरबार ईँटाले बनाइन्छ । घर त माया र आत्मीयताले । सम्पत्तिको मोहले तिमीले नाता तोड्यौ । कसैको मन जित्न सकेनाै । उनीहरुले तिम्रो भोज के हेर्ने ?” समय फेरियो बाबै मान्छेलाई आत्मियता र सम्मान चाहिन्छ । जाबो दाल ,चामल खान तिम्रो आश कसैले गर्दैनन् । अमृत मौन भयो । त्यो दिनदेखि उसले बुझ्यो ,धनको दरबार त बनाइन्छ, तर मनको दरबार नबनाए सबथोक सुन्य हुँदो रहेछ ।