Categories: विविध

नयाँ वर्ष २०८३

सुयोग ढकाल
हाम्रो पात्रो

नयाँ वर्ष विक्रम संवत् २०८३ आजदेखि हाम्रा सामु उपस्थित भएको छ । सबैमा नयाँ वर्षसँगै सुख, शान्ति, लक्ष्य प्राप्तिमा सफलता मिलोस् ‘हाम्रो पात्रो’ सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छ ।
बितेको वर्ष जे भयो भयो, नराम्रोले सिकाएर गयो । अबको वर्ष शुभ हुन्छ । प्रगति हुन्छ । अनि स्वस्थे, सुखद र कल्याणकारी हुन्छ, हामीले उत्साही विश्वास राख्नुपर्छ ।आराध्य देव, राष्ट्रदेव महादेव झैँ ‘समय’ पनि शून्य अनि निराकार, अन्त्यहीन अनि बलवान पनि । समय रोक्न, नियन्त्रण गर्न मानिसको बसको सवाल होइन । तथापि मानिसहरू निरन्तर साहस गरिरहन्छन्, समयलाई आफ्नो प्रकारले गणना गरिरहन्छन् । हात या भित्तामा भएको घडी अनि क्यालेन्डरहरूले यस्ता समयको मापन गर्ने गर्छन्, दिन, घडी, पला, नक्षत्र, पक्ष, मास अनि वर्षहरू फेरिरहन्छन् । सँगै धर्तीमा अनुहार फेरिरहन्छन्, अनि फेरिन्छ, मानिसहरूका पेरिफेरी पनि ।फूलेका आँप, लिची, दाना बसेका नासपतीका हाँगाहरू, बोट–बिरुवामा भर्खरैका चिल्ला पातहरूले वसन्त आगमनको सूचक स्वरूप कुहु–कुहु गरेका सुन्दर कोइलीका सुमधुर गीतले पनि सबैलाई नव वर्षको शुभकामना सन्देश प्रवाह गरेझैँ लाग्छ ।गत वर्षको तीता–मीठा यादहरूलाई याद मात्रै बनाउँदै भित्ताका क्यालेन्डरहरू पुराना भए । हात–हातमा भएका मोबाइलले डिजिटल क्यालेन्डरका रूपमा अपडेट ‘हाम्रो पात्रो’ यहाँहरूका लागि विक्रम संवत् २०८३ का विशेष पारम्परिक चाडबाड, वैदिक कर्मकाण्डी, सामाजिक, राजनीतिक तथा सरकारी सम्पूर्ण आधिकारिक जानकारीका साथ उपलब्ध छ । यहाँहरूले एप्लिकेशनका लागि देखाउनुभएको हौसलापूर्ण संलग्नता र सल्लाह सुझावले हामी हाम्रा तमाम प्रयोगकर्ताहरूप्रति कृतज्ञ छौँ ।
विक्रम संवतको पृष्ठभूमि
संसारभरिका मानिसहरूले विभिन्न प्रकारका आ–आफ्नै तरिकाले र आ–आप्नै समयमा नयाँ वर्ष मनाउने चलनमा ल्याएका छन् । तर विक्रम संवत् भने एउटा पुरानो अनि ऐतिहासिक संवतको रूपमा विशेषतः पूर्वीय दर्शन अनि पौराणिक वैदिक सनातन संस्कारमा व्याख्या गरिएको छ । विक्रम संवत् अङ्ग्रेजी संवत् अर्थात् एडी भन्दा ५६ दशमलव ७ वर्षले अगाडि छ । यसबाटै प्रमाणित हुन्छ यसको महत्त्व अनि मानव सभ्यतामा वैदिक सनातन हिन्दु धर्मको प्रभाव र उमेर । विक्रम संवत् समग्र तिथि मितिहरू पृथ्वी र चन्द्र बिचको कोण अनि अवस्थितिमा फरक पर्छन्, सायद त्यसैले पनि यसलाई चन्द्र मास भनिएको हुनपर्छ ।
कसरी मापन गरिन्छ त चन्द्र मासमा समयलाई ?
चन्द्रमा र सूर्यबिचको देशान्तरीय कोणको १२ डिग्रीको वृद्धि हुने समय मापनलाई तिथि भनिन्छ । सामान्यतया १९ देखि २६ घण्टासम्मको एउटा तिथि हुन्छ । पक्ष भन्नाले १५ वटा तिथिहरू हुन र कृष्ण र शुक्ल पक्ष गरी दुई वटा पक्षहरू हुन्छन् । दुई वटा पक्षहरू मिलेर लगभग २९ दशमलव ५ तिथिको एउटा मास हुन्छ । नयाँ चन्द्र उदाएपछि कृष्ण पक्षको अँध्यारो निस्पट्ट समयसम्मको पक्ष एक मास हो ।
२ मासको एक ऋतु हुन्छ, ३ ऋतुको एक आयना हुन्छ अनि एक वर्ष भनेको २ आयना हो ।
प्राचीन कालमा राजा विक्रमादित्यले सुरुवात गरेका यो संवत् नेपालको औपचारिक, आधिकारिक संवत् पनि हो, जसको औपचारिक आत्मसात् नेपालले श्री ३ चन्द्र शमशेरको पालादेखि गरेको हो ।
विक्रम संवत् अनुसार हरेक नयाँ वर्ष वैशाख महिनाको १ गते अर्थात् आजकै दिनबाट सुरु हुन्छ । विक्रम संवत् सूर्यसँग सम्बन्धित भएकाले महिनाहरू पनि ग्रह नक्षत्रका नामसँग सम्बन्धित छन् । नेपालको संवत् प्रणाली सूर्य पात्रोसँग सम्बन्धित छ ।जब पृथ्वीले सूर्यको एक परिक्रमा पूरा गर्छ, त्यति बेला चैत्र शुक्ल प्रतिपदा हुन्छ र सूर्य मीन राशिबाट पुनस्चः मेष राशिमा प्रवेश गर्ने गर्छ । यही बेला नयाँ वर्षको सुरुवात हुन्छ, जसलाई सूर्यको शून्य अंश पनि भनिन्छ ।
वैशाखको घामसँगै प्रारम्भ भएको यो संवत् क्रमशः वर्षाको रोपाई, गोडमेल अनि दसैँ तिहारको रौनक हुँदै अन्नबाली भित्राइँदै, हिउँदको सिरेटो छिचोल्दै चैतमा आइपुगेपछि अन्त्य हुन्छ । यसबिचमा अन्य धेरै खाले माहौल र चाडबाड पर्छन् । विशेष तिथि मिति लगायत अनगिन्ती चाड–पर्वहरूले नेपाली समाजलाई आफ्नो परम्परा, संस्कृति तथा रहनसहनका वास्तविक चित्रहरूले सजाउने गर्छन् ।
कसरी मनाइदैछ त नयाँ वर्ष ?
तराईमा आजको दिनलाई सिरुवा भनिन्छ भने पूर्वी तराईमा जुटशितल भनेर एक–अर्कामा पानी छ्यापेर मनाउने चलन छ । बारीमा पाकेका केरा, दही लगायतका खानेकुराहरू खाने अनि विशेषतः तरुवा, भरुवा अनि मुन्गा अर्थात् सोइजनको तरकारी खाने चलन आजको दिनमा व्यापक छ । सिरुवाका मेलामा नयाँ लुगा लगाएर जाने, जिलेबी खाने अनि खेलौनाहरू किन्ने आज केटाकेटीहरूका लागि विशेष रौनक रहन्छ । तराईमा कहीँ–कतै पाकेका गहुँहरू त काट्न पनि थालिसकियो होला, आलसका र खेसारीका दानाहरू भित्राई सकियो कि बाँकी छ ?
पहाडका खेतका गराहरूमा छरिएका मकैहरू चराहरूले नखाउन् भनेर बुख्याँचा राख्ने चलन र बुख्याँचा बनाउने समय र नयाँ वर्षको उत्साह लगभग एकै समयमा पर्छ । चराहरूले मकै नखाउन्, सरोवर उम्रिउन मकैका बोटहरू, अनि त सहरमा तपाई मल्टिप्लेक्समा चलचित्रको मनोरञ्जन लिँदै पप–कर्न र चीसोको मज्जा लिन पाउनुहुनेछ । टोल, बजारमा ठेलामा सल्काइएका कोइलामा पोलिएका मकैको स्वाद लिन पाउनुहुनेछ ।
पहाडी, मध्य पहाडी भेक अनि हिमाली भेकमा पनि उत्साहका साथ मीठो खाएर, राम्रो लगाउँदै नयाँ वर्ष उत्साह–उमङ्ग साटासाट गर्ने गरिन्छ । वैशाखका सुरुवाती दिनहरूमा भएका अनि गरेका कुरा वर्षभरि दोहोरिन्छ भन्ने विश्वास राखिन्छ । अनि यी सुरुवाती दिन मीठो खाने, राम्रो लाउने अनि सकारात्मक विचार ल्याउने दिनका रूपमा लिइन्छ । टिभी, रेडियो, पत्रपत्रिका सबैतिर नयाँ वर्षको शुभकामना छाएका छन् ।
के मधेसी, के पहाडी, के हिमाली, के शूद्र, के ब्राह्मण, के जनजाति ? सबैलाई एकताको सूत्रमा बाँध्न सक्ने नेपाल आमाको यो आँगन झन् रङ्गिन अनि बलियो बनाउन सक्ने हिम्मत राष्ट्र अभिभावकलाई प्राप्त होस्, सिमाना सुरक्षित बनाउनु छ । सबै नेपाली जनमा हामी एक थियौँ, छौँ र अनन्त एक भई रहिरहनेछौंः
संसारैभरि यो वर्ष धर्म, संस्कार अनि परोपकारको जय होस्, अधर्मको नाश होस्, विश्वको कल्याण होस्, प्राणीमा प्राण होस् अनि प्रकृतिले माया गरुन् र प्रकृतिलाई माया गर्ने समाजको पनि विकास होस् । जय जय देश, जय जय नेपाल, नव वर्ष २०८३ को मङ्गलमय शुभकामना !
बैशाख १ गते अर्थात् मेष सङ्क्रान्ति पनि हो । १२ वटा राशिहरूका आधारमा १२ वटा महिना निर्धारण भएका छन् । वैशाख अर्थात् प्रथम महिना अनि यसै महिनामा प्रथम दिन अर्थात् १२ वटामध्ये प्रथम राशि मेष राशिको सङ्क्रान्ति ।
यो सङ्क्रान्तिका दिन विभिन्न परिकार पकाउने, खाने चलन हुन्छ । लामा लामा त्यान्द्रा भएका रुखमा फल्ने सजिवनको तरकारी, तरुवा, भरुवा अनि अन्य परिकार खाने चलन हुन्छ । विशेषतः तराईका भू–भागमा आजबाट विभिन्न स्थानीय मेलाहरूको समेत सुरु भएको छ ।
गहुँ काटे पछिको छ्वालीहरू बग्रेल्ती भएका खेतमा आली आलीमा राखिएका पसल, खेलौना अनि खानेकुराका त्रिपालले बेरिएका पसलहरूको रौनक बेग्लै हुन्छ । मेलाको यस्तै रौनक पहाडी अनि मध्य पहाडी भू–भागमा पनि देख्न सकिन्छ । समग्र संक्रान्तिहरूमा आजको यो मेष सङ्क्रान्ति सबैभन्दा रङ्गिन सङ्क्रान्ति हो ।
नयाँ कक्षामा बढोत्तरी हुने विद्यार्थीदेखि जागिरे जीवनमा नयाँ वर्षको प्रवेश सम्म । अबको वर्षमा गरिने योजना अनि सफलता सूत्रहरू नेपाली जीवन शैलीमा मेष सङ्क्रान्तिका दिनमा सुरु गरिन्छ ।
माया गर्नेहरू तल नपरुन् । सपना देख्ने आँखा सँगै पाइला पनि अघि बढुन् । यस वर्ष विश्वको कल्याण होस् । प्राणीमा प्राण होस् अनि सत्यको जय होस् ।

https://www.hamropatro.com/

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बाँदरको शिक्षा

प्राशन्न धेरै पहिलाको कुरा हो एउटा कुशलपुर नाम गरेको शहर थियो। शहर एकदमै रमाइलो थियो…

20 hours ago

संस्कार

राजन कार्की पाजु धरान सुनसरी पानी लिन जाँदा पँधेरामा रमा र विद्याको संयोगवस भेट भो…

5 days ago

महान् चातुर्य

नन्दलाल आचार्य गोलबजार, सिरहा ​"हेर्नुस् मास्टरजी, यो ढुङ्गाले कसरी सुन ओकलिरहेको छ !" स्कुल जाँदैगर्दा…

5 days ago

“किताब देऊ”

टिकाराम शर्मा पौडेल किताब पाएर पढी रमाएँ । र कल्पनाका सित उड्न पाएँ ।। कथा…

6 days ago

“जीवनको लक्ष्य“

दुर्गा घिमिरे ‘जीवनको लक्ष्य’ विषयमा निबन्ध लेख्नु,” भनेर म कक्षाबाट बाहिरिएको थिएँ। भोलिपल्ट कपी उठाएर…

6 days ago

घुम्तीपार

दुर्गा घिमिरे आज एस.एल.सी. नतिजा प्रकाशित भएको दिन थियो। स्कुलको सूचना पाटी अगाडि भीड लागेको…

7 days ago