
नरिश्वर गौतम
काठमाडौँ
पहिलो महिना वैशाख
नयाँ वर्ष आउने
दोस्रो महिना जेठमा
गर्मीले सताउने ।।
तेस्रो महिना असार
दही चिउरा खाने
चौथो महिना साउन
लुतो फालिजाने ।।
पाँचौँ महिना भदौमा
तीजको दर खाने
जात्रा लाखे हेरेर
सबै जना रमाउने ।।
छैटौँ महिना असोज
बडादशैँ मनाउने
सातौँ महिना कार्तिक
झिलिमिली छाउने ।।
आठौँ महिना मंसिर
भकारीमा अन्न
नवौँ महिना पुषमा
जाडो अन्नाधुन्न ।।
दशौँ महिना माघमा
तरुल चाकु खिचडी
फागुन महिना एघारौँ
चल्छ हावाहुरी ।।
बाह्रौँ महिना चैत चाहिँ
सुक्खा अनि खडेरी
चैतपछि अर्को वर्ष
शुरु हुन्छ फेरि ।।





