
नन्दलाल आचार्य
”मिस, फेरि सरले मेरो हात समाते…” आठ कक्षाकी छात्राले छेउमै उभिएर आँसु पुछिन् । उनको स्वरमा पीडा र डर छताछुल्ल थियो ।
“कति भयो ? स्पष्ट भन,” मिसको आवाजमा चिन्ताको कम्पन थियो ।
”हिजो मध्यावधि परीक्षाको नाममा खाली कक्षामा… सरले ढोका बन्द गरेर….” उनी बोल्न सकिनन् । मिस झसङ्ग भइन् । ती ‘आदर्श’ शिक्षक ! चुप लागेर बस्नु भनेको अर्को बालिकामाथि अन्याय हुनु हो भन्ने थाहा हुँदाहुँदै पनि ‘नाम बिग्रिने’ डरले धेरै शिक्षकलाई रोक्छ । तर, आज कक्षाकोठाको मौनता टुटिसकेको थियो।
”कसैले देखेको थियो ?” मिसले सोधिन्।
”सीसीटीभीमा देखिन्छ, मिस,” छात्राले काँप्दै भनिन्।
डरमाथि कर्तव्यको जित सुनिश्चित गर्दै मिस प्रिन्सिपलको अफिसतिर लागिन् । ढोका भित्रै ती सर मोबाइल चलाएर बसिरहेका थिए।
“सीसीटीभी हेर्नुस्, अहिले नै,” मिसको आवाज दृढ थियो।
प्रिन्सिपलले भिडियो चलाए । ढोका बन्द गर्दै सरको छाया, डराएकी छात्रा, र कक्षाको एकान्त देखियो ।”झुटो हो यो !” सरले अत्तालिँदै तल्लो ओठ टोके।
मिस एक कदम अघि बढिन्- “झुटो त्यो डर हो जसले बालिकालाई चुप गराउँछ । विद्यालय पवित्र स्थल हो, कसैको पाप धुने नदी होइन।”
प्रिन्सिपलले पहिलोपटक स्वतन्त्र निर्णय लिए- “तपाईँ तत्काल निलम्बित । बाहिरी कानुनी कारबाही अघि बढ्छ ।”
छात्राको काँपिरहेको स्वर खुल्यो- “मिस, अब अरू सुरक्षित हुन्छन् ?”
मिसले उसको काँध समातिन् र भनिन्, “हामी बोल्यौँ भने, हिंसा हार्छ ।”





