
उमानाथ दाहाल
“आमा !” गोकुल घरबाट त्यतैतिर दौडिदै बोलायो ।
आमाले आवाज सुनेर हेरिन् ।
“दर्शन आमा !” गोकुलले शिर झुकाउँदै भन्यो।
“भाग्यमानी हुनु बाबु !,किन बोलायौ ?”
आमाले गोकुलको शिरमा हात राख्तै भनिन्।
“खै, केशव स्कुल आउँदैन त ? कति दिन भैसक्यो । ” गोकुलले आमाको आँखामा हेरेर भन्यो – ” के भयो ?”
आमा भावुक भइन् । उनले तत्काल जवाफ दिन सकिनन् । गोकुलको जिज्ञासाले उनी भित्रभित्रै पग्लिन् ।” मेरो सबैभन्दा मिल्ने साथी हो केशव । ऊ नहुदाँ मलाई स्कुलमा खल्लो हुन्छ ।” केशवले आफ्नो अनुभव बतायो ।
“ऊ एघार वर्षको भयो मसँग काममा जानुपर्छ नि त । म एक्लैको कमाइले परिवारको छाकटार्न पुग्दैन ।” आमाले आफ्नो अवस्था बताइन् ।
” ला ! पढाइ बिग्रिन्छ होला, मभन्दा पनि धेरै जान्ने थियो केशव ।” गोकुल यति बोलेर एकछिन रोकियो र फेरि बोल्यो – ” जसरी भएपनि मिलाएर पठाउनुहोस् न ।”
“यसपालि त उपाय छैन, पछिपछि हेरौँ ।” आमाले प्रस्टै भनिन् । उनले अझै थपिन् – “धेरैकुरा पढिन्छन् यो संसारमा, तिमी स्कुल र किताब पढ्दै गर केशव गरिबी, भोक र कर्म पढ्दै गर्छ।” आमाले आफ्नो बोटो लिइन्।”





