Categories: कविता

“प्रस्थान”

घनश्याम रेग्मी

देखिन्छ ताँती परदेश जाने हाम्रै थियो लस्करभित्र साने
झोला भिरेका परिवार साथ टीका हुँदा शोभित ती ललाट।
छन् चेहरा खिन्न उदास खास छोडेर जाँदा जननी निवास
देखावटी बाहिरतर्फ हाँसो लाखौं लुकेका मनमा गुनासो।

बाबा र आमा अनि इष्टमित्र पीडा छ भित्री गहमा विचित्र
सन्तान टाढा किन पारिएको हो बाध्यता कारणले भएको।
पाखा पखेरा वनमा डुलेर खेल्ने र पढ्ने छ कठै उमेर
सिद्धान्तका लाख पढेर ठेली मिल्दैन खै काम कतै नमोली।

पाइन्न खै जागिर काम काज खाली बसी खान हुँदैछ लाज
राखी धितो साहु महामनामा पैसा निकासी परदेशनामा।
छन् आँसु आँखाभरि अस्तव्यस्त सन्तानका माथ मुसार्न व्यस्त
हाले अँगालो छिन एकलाई ढोगेर माटो जननी मलाई।

बाँकी छ शिक्षा तर छैन इच्छा के हुन्छ फोस्रो मनको सदीक्षा
यो राज्यको नीति जुटाउने खै छन् योजनामात्र फुटाउनेकै।
छन् भिन्न भाषा हर नेत्रभित्र आशा उमारी मनमा विचित्र
अर्को सहारा नभएर होला पोको पुराना कपडा र झोला।

लाखौं जना बाहिरतर्फ जाने थोरै छ सङ्ख्या परबाट फिर्ने
चिल्ला पुगे कार सवार मन्त्री छोरो थियो लायक एक सन्त्री।
माने र साने श्रम गर्न जाने ती कारवाला सुन भर्न जाने
कस्तो नयाँ दृश्य नियाल्न पाएँ छाती दुख्यो चर्र भयो समाएँ।

हाँसी खुसी पुत्र वरिष्ठजीका खादा र माला शिरमा भिरेका
हल्लाउँदै हात बिदा गरेका फर्के बुबा बैठकको अबेला।
जाने दुवै हुन् परदेशतर्फ छन् दृश्य ती भिन्न यथेष्ट तर्क
जो काम गर्ने मनबाट सोच्थे आमा र बाबा मन खिन्न पार्थे।

नेपाल आमा जल हैमले भरी ती वीर छोरा खुकुरी तिखारी
यो देश रक्षा अघि जो गरेका सिध्याउनै उद्यत देख्छु नेता।
त्यो भीडका मानिसमाझ एक मान्छे थिएँ बन्धक छन् विवेक
हाम्रो त्यहाँ बालक एक नासो निर्दोष हाँसो छ निकै गुनासो।

घन्टी बज्यो फाटक खोलिएको गाँठो हियामा तब जेलिएको
टीका लगाएर बिदा दिएका मातापिता विस्मित छौँ भएका।
हल्लाउँदै हात उता पठायौँ आँखा रसाए दह चित्त पायौँ
यस्तै हुने मार्मिक दृश्य नित्य धूवाँ कहाँ लुक्दछ सत्य सत्य।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

4 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

5 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago