प्राशन्न
धेरै पहिलाको कुरा हो एउटा कुशलपुर नाम गरेको शहर थियो। शहर एकदमै रमाइलो थियो चारैतिरबाट जङ्गलले घेरिएको, त्यो जङ्गलमा एउटा कमल नाम गरेको बाँदर थियो। शहरका ठुलाठुला घर र अग्ला अग्ला टावर देखेर ऊ छक्क पर्थ्यो। एकदिन, उसले एउटा रुखको टुप्पोमा बसेर त्यो शहरलाई निहालीरहेको थियो। त्यसरी हेरिरहँदा उसले मनमनै भन्यो “म पनि यति राम्रो शहरमा घुम्न पाएनी हुन्थ्यो नि ” यस्तो सोच्दै अध्याँरो हुँदासम्म त्यहीँ
बसिरह्यो। अध्यारो बढ्दै गयो शहर भने झनझन सुन्दर देखिन थाल्यो। झिलीमिली वत्तीहरुले त्यो शहरलाई सजाउँदै गए। कमल शहरको त्यो दृष्यले निकै आकर्षित भयो। ऊ भोलि शहर जाने सपनामा टोलाइरह्यो। साह्रै नै अध्याँरो भइसकेको थियो ऊ झस्ङ्ग भयो र घर फर्कियो।
कमल घर गएर सुत्यो निदाउँन खोज्यो तर शहर जाने बिचारले सताइरह्यो निदाउँनै सकेन। धेरै दिन यस्तै चलिरहयो। एक दिन बिहान ऊ उठेपछि बसेर सोच्यो यति इच्छा भइसकेपछि पनि म किन शहर नजाने त भन्ने उसलाई लाग्यो। भोलि पल्ट उठेर शहर जाने विचार गर्यो। उसले आफ्नो साथीहरुसँग कुरा गर्यो, “काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भनेको जस्तो के भन्छ यो हामी त जङ्गलमा बस्ने जात पनि कही शहर जान्छन त हा हा हा,,,,,,” एउटा
साथीले प्याच्च भन्यो सबै साथी गलल्ल हाँसे।
“शहर जाने त मानिस हो हामी त जङ्गलमा बस्ने हो। के कुरा गरेको कमल ?” अर्को ले प्रश्न गर्यो।
यत्तिकैमा अर्को एउटा साथी ले सम्झायो “हेर कमल शहर जाने कुरा नगर त्यहाँ सबै मानिसहरु मात्र हुन्छन् हाम्रो बस्ने घर हुँदैन हामीले खाने कन्दमुल हुँदैन मानिसहरुले बाँदर आयो भनेर लखेट्छन् हाम्रो आफ्नो कोही हुँदैन।”
तर कमलले आफ्नो ढिपी छोडेन। सबैसँग बिदा मागेर ऊ भोलि शहर जाने उत्सुकतामा घर फर्कियो। ऊ रातिसम्म शहरका अग्ला अग्ला भवनहरु र झिलिमिली बत्तिहरु नजिकबाट हेर्दा कस्ता हुन्छन् होला भनेर सोचिरह्यो, सोच्दा सोच्दै निदायो।
कमल भोलिपल्ट बिहानै उठेर शहरतिर लाग्यो। शहर पुग्नासाथ आश्चर्य चकित भयो। ती भवनहरु उसले सोचेभन्दा पनि ठूला र राम्रा थिए। ऊ जति घुम्दै गयो त्यतिनै अचम्म लाग्दा कुराहरु देख्दै गयो, झिलिमिली बत्तिहरुले सजाएका रङगीचङगी भवनहरु हेर्दा साच्चै निकै नै मनमोहक देखिन्थ्थे। यस्ता सुन्दर र विभिन्न प्रकारका भवनहरुको बिचमा उसले एउटा फरक प्रकारको भवन देख्यो। जहाँ हरियो चउर, केही रुख र रङ्गीविरङ्गी फूलहरुले सजिएको
आकर्षित भवन थियो। कमल त्यहा पुगेर टक्क अडियो। त्यहा मानिसका हुल सबै एकैप्रकारका कपडा लगाएर थपक्क बसिरहेका थिए। त्यो देखेर उसको मनमा यो ठाँऊ चाँहि किन यस्तो होला भन्ने प्रश्न उठ्यो। यति धेरै मान्छे आउने र सबै एकै प्रकारको देखिने भएपछि यो पक्कै पनि निकै महत्वपूर्ण ठाउँ हुनुपर्छ भन्ने लाग्यो। उत्सुकताका साथ यो के होला भनेर खोजी गर्यो र थाहा पायो कि यो एउटा विद्यालय थियो।
कमल विद्यालय भित्र छिर्यो र भ्यालबाट भित्र हेर्यो जहाँ विद्यार्थीहरु पढिरहेका थिए।
उसलाई त्यो देखेर रमाइलो लाग्यो र त्यही बसेर निकैबेर पढेको हेरिरहयो। केहिबेरपछि टिनिन्न घण्टी बज्यो। सबै विद्यार्थीहरु झोलाबाट एक एक वटा बट्टा निकालेर चउरतिर दौडिए। “ओहो के भयो” भन्दै कमल आत्तियो तर त्यहा केही भएको थिएन विद्यार्थीको खाजाखाने समय भएको थियो। त्यो देखेर ऊ पनि चउरमा झर्यो। कमललाई देखेर कोही विद्यार्थी दङ्ग परे, कोही बाँदर बाँदर भनेर चिच्याउन थाले भने कोही भाग्न थाले। त्यो देखेर ऊ टक्क अडियो
र किन भागे भनेर फेरि आत्तियो, अनि बोल्न थाल्यो। “हैन के भयो साथीहरु किन सबै डराएका?”
यसरी कमल बोलेको सुनेर कस्तो बोल्ने बादँर रहेछ भन्दै छक्क पर्दै ती विद्यार्थी नजिक नजिक आए। त्यहाँ मध्ये एउटा विद्यार्थीले सोध्यो “तिमी को हौ र,,,,कहाँबाट आएको,,,?” बादरले भन्यो “मेरो नाम कमल हो र म ऊ त्यो जङ्गल बाट आएको हुँ” सबैले जङ्गलतिर हेरे एकैछिनपछि अर्को विद्यार्थी ले सोध्यो “अनि तिमी यहाँ आएको चैँ किन त?”
बादँरले भन्यो “खासमा त म शहर घुम्न आएको थिँए तर मलाई तिमीहरुको यो विद्यालय र तिमीहरुले पढेको देखेपछि मलाई पनि पढ्न मन लाग्यो। यो सुनेर विद्यार्थीहरु हाँसे र भने ए,,, हुन्छ हुन्छ भैहाल्छ नी अर्को घण्टीबाट बाँदर पनि त्यही विद्यालय पढ्न थाल्यो। कमलले बोल्न जानेपनि पढ्न लेख्न भने कत्ति पनि जानेको थिएन। त्यसपछि ऊ दिनभरी त्यही विद्यालयमा पढ्ने र राती विद्यालयकै एउटा रुखमा सुत्ने गर्न थाल्यो। ऊ सधैँ कक्षामा ध्यान दिएर पढ्थ्यो, खाजा खाने समयमा उसले रमाइलो गर्थ्यो। विद्यार्थीहरुलाई नाचेर देखाउथ्यो उनीहरुले कमललाई खाजा दिन्थे। लामो समयसम्म यस्तै चलिरहयो ती विद्यार्थी बीच ऊ एउटा प्यारो साथी बन्यो
उनीहरुको सङ्गतले धेरै कुरा सिक्यो।
अचानक एकदिन कमल विद्यालय आएन। सबैजना कमल बस्ने रुखहेर्न गए ऊ त्यहाँ थिएन वरिपरि खोजे तर कही पनि पाएनन्। भोलि पल्ट पनि ऊ विद्यालय आएन। एक हप्ता बित्यो विद्यार्थीहरुले उसलाई खोज्न छोडिसकेका थिए तर उसका मिल्ने साथीहरु भने के भयो होला भनेर चिन्तित थिए।
यत्तिकैमा केही समय पछि विद्यालयमा एउटा चिठी आयो। त्यो चिठी जङ्गलबाट आएको कमलको थियो। चिठी यसप्रकार थियो।
प्यारा साथीहरु,
मीठो सम्झना।
म यहा सन्चै छु तिमीहरु पनि त्यँहा सन्चै छौ होला । चिठी लेख्नुको कारण तिमीहरुको माया र सम्झना नै हो जसले गर्दा एउटा चिठी कोर्दै छु।
म पहिले तिमीहरुलाई केही खबर नै नदिइकन मेरो घर जङ्गल फर्किए। त्यति बेलाको अवस्था नै त्यस्तै आइपर्यो मलाई माफ गरिदेउ। मेरो भाइ बिरामी भएको खबरले मलाई अत्यायो र म आत्तिदै रातीमा नै घर फर्किएँ।
मलाई तिमीहरु सबैको धेरै याद आएको छ। खाजा खाने समयमा नाचेको, गाएको, खेलेको र रमाएको।
थाहा छ साथीहरु?मैले तिमीहरुलाई एउटा ठूलो मेरो प्रगति सुनाउन र धन्यवाद दिन यो चिठी लेखेको हो नी,
सबैभन्दा पहिला त म शिक्षक शिक्षिकाहरु र तिमीहरुलाई धन्यवाद दिन चाहन्छु। मलाई पढ्न र लेख्न सिकाइदिएको मा सबैप्रति म निकै आभारी छु। बाकी रह्यो मेरो उपलब्धिको कुरा मैले जङ्गल फर्केपछि अरु बाँदर साथीहरुलाई पनि पढ्न लेख्न सिकाउन थालेको छु।
म सुरुमा शहर आउँदा धेरै कुरा देखेर अचम्मित भएको थिए। यति ठूलाठुला र राम्राराम्रा भवनहरु, ठूलाठूला पक्की बाटाहरु, ती बाटामा कुदेका रङ्गीचङ्गी सवारी साधनहरु आकाशे पुलहरु, अस्पतालहरु, स्कुलकलेजहरु, मोवाइल टेलिभिजनहरु कसरी बन्यो कसले बनायो भनेर मेरो मनका अनेकौ प्रश्नहरु तछाडमछाड गरेर दौडिरहेका थिए? तर पछि मैले तिमीहरुको सगत शिक्षकको बुझाइ र किताबको पढाइबाट बुझ्दै गएँ यो सबै त शिक्षाले गर्दा पो रहेछ। यस्ता ठूलाठुला भवन बनाउने इन्जिनिएर हुन अथवा ठुलाठुला रोग लागेका बिरामीलाई सन्चो बनाउने डाक्टर हुन सबै पढेर नै यस्ता विद्धान हुने रहेछन र यस्ता यस्ता प्रगति गर्दारहेछन्। शिक्षाको कमिले नै हामी बाँदर र अरु जनावरहरु पछि परेका रहेछौ। बाँदरले आफ्नो घर नी बनाउँदैन अरुको घर पनि भत्काउँछ भन्ने उखान त्यसै बनेको होइन रहेछ, यो सबै शिक्षाको कमिले रहेछ नी साथीहरु, त्यसैले अब भैसकेको क्षतिलाई सकेसम्म कम गर्न म चाँडै नै जङ्गलमा पनि विद्यालय खोल्दै छु।
अनि अर्को महिना म शहर आउँदै छु बाँकी कुरा त्यतीबेला नै गरौँला।
अ साँचै सबै शिक्षक शिक्षिकाहरुलाई मेरो तर्फबाट धन्यवाद र नमस्कार भन्दिनु ल।
उही तिमीहरुको साथी
कमल
यस्तो चिठी देखेर कमलका शहरका सबै साथीहरु र शिक्षकशिक्षिकाहरु सबै खुशी हुन्छन् र खुशीको आँशु बगाउँछन्।
सुयोग ढकाल हाम्रो पात्रो नयाँ वर्ष विक्रम संवत् २०८३ आजदेखि हाम्रा सामु उपस्थित भएको छ…
नन्दलाल आचार्य गोलबजार, सिरहा "हेर्नुस् मास्टरजी, यो ढुङ्गाले कसरी सुन ओकलिरहेको छ !" स्कुल जाँदैगर्दा…
दुर्गा घिमिरे ‘जीवनको लक्ष्य’ विषयमा निबन्ध लेख्नु,” भनेर म कक्षाबाट बाहिरिएको थिएँ। भोलिपल्ट कपी उठाएर…