
उषा बस्ताकोटी खनाल
बाबाको ओत पाए खर जडित कुटी बन्छ ठूलो हबेली ।
बाबाले कर्म गर्दा प्रमुदित मनले बन्छ अौँसी जुनेली।।
बाबाको काँध पाए हिमगिरि सजिलै चढ्छ सानो बचेरो ।
बाबाको चेहरामा नवरङ भरिए भाग्छ आफैँ अँधेरो ।।
बाबाले प्रेम बाँड्दा परिजन सुखमा बन्दछन् धैर्यशाली ।
हाम्रो ऐश्वर्यशाली घरभरि सुखको चल्छ हालीमुहाली ।।
बाबाले साथ माग्दा तन र मन जुटे भाग्यले खोल्छ द्वार ।
बाबाले हात माग्दा तन मन नमिले लुट्न जुट्छन् गँवार ।।
बाबाले मात्र आटून् हिमगिरि शिरमा फुल्छ लालीगुराँस ।
बाबाले मात्र घोलून् श्रमसित पसिना स्वर्णको लाग्छ खात ।।
बाबाका ओठ हाँसे शिशिर पनि त्यहाँ बन्छ जस्तो वसन्त ।
बाबाको चित्त रोए जति कुसुमित होस् बन्छ नाङ्गो वसन्त ।।
बाबा उत्फुल्ल बन्छन् तब जब श्रमले भोक तिर्खा लघार्छ ।
बाबा सन्तुष्ट बन्छन् तब जब घरमा तृप्तिले सास फेर्छ ।।
बाबा उत्फुल्ल बन्दा सुरपुर घरमै सर्छ आफैँ बसाइँ ।
लक्ष्मीकासाथ आई प्रमुदित हरिले गर्न थाल्छन् बढाइँ ।।
बाबाकै वाटिकाका कुसुमित तरुका फूल सुँघ्दै लुकेर ।
के सोध्छस् कोइली हे अझ पनि नचिनी को तिमी हौ भनेर ।।
बाबाको कर्म-गाथा सुमधुर लयमा गाइदे यत्रतत्र ।
त्योभन्दा हुन्न साथी सुरपुर पुगिने कर्म अर्को पवित्र ।।





