“साँच्चै भयो स्वर्णिम याे तराई”


इन्दिरा प्रयास

बाला तरेली भरि झुल्झुलाई
आयो शरद् फूल अहाे फुलाई
सुम्पे छ सत्ता सब शीतलाई
साँच्चै भयो स्वर्णिम यो तराई ।।

ओढी तुवाँलो छ धरा लुकेको
बच्चाे चिसाेमा कसरी सुतेको ?
डुल्छन् बगैँचा भमरा रमाइ
साँच्चै भयो स्वर्णिम यो तराई ।।

आकाश खुल्ला गिरि मुस्कुरायाे
भण्डार भर्दा जग नै रमायाे
हेमन्त दाजै पनि भेट्न आई
साँच्चै भयो स्वर्णिम यो तराई ।।

पंक्षी चिसोले सब दूर भागे
दुःखी दरिद्री सुख भाेग्न लागे
खान्छन् खुसीले सुखकाे कमाइ
साँच्चै भयो स्वर्णिम यो तराई ।।

बालेर आगाे तब ताप्नु राप
बाक्ला र न्याना अब बस्र राख
स्रष्टा धराका उठ लेख्नलाई
साँच्चै भयो स्वर्णिम यो तराई ।।