Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/sarathib/public_html/wp-content/themes/Newspaper/functions.php on line 5
बालबालिका आफैँ बिग्रिँदैनन् | सारथि बाल पत्रिका

बालबालिका आफैँ बिग्रिँदैनन्


गङ्गाराम गड्तौला
लेखक कर्णाली एजुकेसन फाउन्डेसन,झापाका प्राचार्य हुन्।

काठमाडौँ — बाबुआमाका नजरमा छोराछोरी बिग्रिए । सोचेअनुरूप पढिदिएनन् । पढाइमा रुचि छैन । भनेको मान्दैनन् । शिक्षकका नजरमा विद्यार्थी बिग्रिए । अनुशासन छैन । नैतिकता छैन । राम्ररी पढेनन् । होहल्ला, डुलघुम र मोजमस्तीमा मात्रै भुले।
आजको बुझाइ यही छ । विद्यालय छन् । शिक्षक छन् । विद्यार्थी छन् । शिक्षा छैन । अभिभावक भन्छन्– शिक्षकले पढाएनन् । शिक्षक भन्छन्– अभिभावकले संस्कार दिएनन् । दुवैको पन्छिने कुरा । मारमा बालबालिका ।
बालबालिका आफैं बिग्रिँदैनन् । बिग्रनु र सप्रनुको ज्ञान उनीहरूमा हुँदैन । उनीहरू सिक्छन्– जे देख्छन् । उनीहरू सिक्छन्– जे हामी गर्छौं । हामीले भनेका कुरा राम्रा छन् । त्यो उनीहरूले सुनेको कुरा । हामीले गर्ने व्यवहार कस्तो छ ? त्यो उनीहरूले देखेको कुरा । हामीबाट उनीहरूले के पाएका छन् ? त्यो उनीहरूले भोगेको कुरा । मानव मस्तिष्कले सुनेको कुरा चाँडै बिर्सन्छ । देखेको कुराअलि लामो समय सम्झन्छ । भोगेको कुरा चिरस्थायी हुन्छ ।
अभिभावकले आदेश सुनाउँछौँ । शिक्षकले आदर्श सुनाउँछौँ । पढाइका क्रममा हामी बालबालिकालाई सुनाइरहेका छौँ । पट्यारलाग्दा कुरा । व्यावहारिक छैन । कथाजस्तो ‘इन्ट्रेस्टिङ’ पनि छैन ।
विषयवस्तुलाई कथा बनाएर पढाऔँ । रुचि जाग्छ । बालबालिका भाषण सुन्न चाहँदैनन् । त्यसमा मजा छैन । विषयवस्तुलाई कथा बनाएर एक दिन पढाई हेरौँ । त्यो दिन हाम्रा लागि शैक्षिक जीवनको अविस्मरणीय हुनेछ । सुन्न सक्ने समय कति हो ? कसैले दर्शन, विचार वा आदर्शका विषयमा दिएको भाषण सुन्ने क्षमता मानिसमा कति हुन्छ ? बढीमा १२ मिनेट वयस्कमा । सात मिनेट बालकमा । यसको अर्थ भाषण विधि काम लाग्दैन । शिक्षकले बुझ्नुपर्ने ।
हाम्रो समाज आदेशमुखी छ । सानालाई ठूलाले आदेश दिने । सानाले केही जानेको छैन । उसका सबै कुरा गलत । हाम्रा सबै कुरा ठीक । यही आदर्शले हामीलाई निर्देशित गरेको छ । यही आदर्शको अनुकरण हामी गर्छौं । केटाकेटीलाई ‘तँ’ भनेर सम्बोधन गर्छौं । ऊबाट आफूलाई ‘तपाईँ’ भनाउँछौँ । आफू सम्मान चाहने, अरूलाई सम्मान नगर्ने ।
‘आफू सम्मान चाहनेले पहिले अरूको सम्मान गर्न सिक्नुपर्छ’ भनाइ ठीक छ तर गराइ ? अभिभावकबाट नानीहरूले संस्कार सिक्छन् । संस्कार अरूले सिकाउने होइन । बालक अभिभावकसँग कुरा गर्न चाहन्छ । कुरा गर्न समय दिऔँ । ऊ मन फुकाएर बाबुआमासित कुरा गर्न चाहन्छ । साथमै रहेर पनि बाबुआमाले आफूलाई समय नदिएपछि बालबालिका निराश हुन्छन् ।
केटाकेटी ठानेर उनीहरूका अगाडि झूटो नबोलौँ । फोनमा कुरा गर्दा सत्य बोलौं । घरमै भएको मान्छे ‘बिर्तामोड वा काठमाडौं गएको छु’ नभनौँ । खराब लत छ भने त्यागौं । सकिँदैन भने उनीहरूका अगाडि त्यस्तो लत नदेखाऔँ । अर्थात् चुरोट, खैनी, पराग, रक्सी आदि खाने बानी छ भने यथाशक्य बालबालिकाका अगाडि प्रयोग नगरौं । उसको सम्मानमा ठोस नपुर्याऔँ ।
बालक भए पनि उसको आत्मसम्मान हुन्छ । ‘केटाकेटीलाई किन चाहियो ?’ नभनौंँ। उनीहरू जिज्ञासु हुन्छन् । प्रत्येक जिज्ञासाको सकारात्मक समाधान दिने प्रयास गरौं । विकसित राष्ट्रमा बालकलाई ‘नगर’ भन्नु हुन्न रे । त्यो नकारात्मक भयो । सकारात्मक सिकाऔँ । उदाहरणका लागि बालक कतै जान लाग्यो । हामी भन्छौं– त्यता नजा वा त्यता नजाऊ । यसैलाई सकारात्मक बनाउँदा कतै जान लागेको बालकलाई यता आऊ भनेर आफूतर्फ आकर्षित गर्दा सकारात्मक प्रभाव पर्छ रे । विज्ञका कुरा । अभिभावकले बुझ्नुपर्ने ।
हामी कक्षामा हल्ला नगर भन्छौँ । हल्ला नगर्ने वातावरण बनाइदिँदैनौँ । कक्षामा नाच्न लगाऔं, नाच्छ । गाउन लगाऔं, गाउँछ । चुट्किला सुनाऔं, हाँस्छ । कथा सुनाऔँ, ध्यान दिएर सुन्छ । उसको आफ्नो बारेमा बोल्न लगाऔँ, बोल्छ । परिवार, छरछिमेक, नातागोता, आमा–बाबाबारे भन्न लगाऔँ, भन्छ । अनि आफूतर्फ आकर्षित गरेर पढाइ सुरु गरौँ, मान्छ । हल्ला गर्दैन ।
पढाइलाई समूहमा गराऔँ । सबैलाई व्यस्त राख्ने प्रयत्न गरौँ । एकपछि अर्कोको पालो आउँछ र आफूले अरूलाई ध्यान दिनुपर्छ भन्ने हेक्का जगाऔँ । अर्काको सम्मान गर्ने बानी बसालौं । नानीहरूलाई तपाईं भनेर सम्बोधन गर्नेबित्तिकै आधा समस्या समाधान हुन्छ । विषयवस्तुलाई रोचक बनाएपछि शतप्रतिशत समाधान हुन्छ । विधिका कुरा छन् । प्रविधिका कुरा छन् ।
अहिले अमेरिकाको विधि नेपालमा प्रयोग गर्न सकिन्छ । त्यताको प्रविधि पनि प्रयोग गर्न सकिन्छ । केवल सिर्जनशील बन्न आवश्यक छ । कसरी हुन्छ, कक्षालाई रमाइलो बनाउने प्रयत्न गरौँ । बालकहरू सामाजिक हुन्छन् । तिनको सामाजिकता र बाल्यकाल ध्वस्त नपारौँ । इनारमा फसेको मान्छे निकाल्न इनारमै पस्नु आवश्यक छ । हामी ३५–४० वर्षका मानिसले नेताको राजनीतिक भाषण सुनेजस्तो ४–५ वर्षको बालकबाट अपेक्षा नगरौँ ।
बालबालिका गैरजिम्मेवार बन्दैछन् । व्यक्तिवादी बन्दै छन् । अनैतिक बन्दैछन् । चरित्रहीन बन्दैछन् । हामी भन्छौँ, प्रविधिले बिगार्यो । सञ्चारले बिगार्यो । उसको हातमा प्रविधि कसले राखिदियो ? प्रविधिले कहिल्यै मान्छे बिगार्दैन । त्यसको दुरुपयोगले मानिस कुलतमा फस्छ । कुलतले उसलाई बिगार्छ । गाँजा, भाङ र रक्सी मात्रै कुलत होइनन् । मोबाइल, गेम, फेसबुक र युट्युब कुलत बन्न सक्छन् ।
हाम्रा नानीलाई मोबाइल गेममा अभ्यस्त कसले बनायो ? हिजो हामीले होइन ? आफूलाई झिँजो नगरोस् भनेर गेम खोलेर हामीले छाडिदिएका हौँ । टिभी खोलिदिएर घरमै थुनी हामी बाहिर गएका हौँ । होम वर्क गर भनेर उसलाई थर्काउँदै आफूले टिभी खोलेर हेरेका हौँ । अनि फोन आउँदा उसैलाई फोन उठाउन लगाएर ममी वा बाबा घरमा हुनुहुन्न भन्न लगाएको कसले ? त्यो संस्कार हो कि होइन ? पहिलो र महत्त्वपूर्ण संस्कार त्यही हो– सत्य र असत्यको ।
बीउ नरोपी बोट उम्रँदैन । बोट नउम्री फल लाग्दैन । हाम्रा नानीहरूमा नकारात्मकताको बीउ कसले रोपिदियो ? अनि कसले मलजल गर्यो र फैलँदै छ नकारात्मकता ? अरूका बालबच्चा बिगार्ने ठेकेदारहरू छन् भने अर्कै कुरा, नत्र एक छिन हामी अभिभावक र शिक्षकले गम्भीर भएर सोचौँ । आफैंलाई साक्षी राखेर सोधौँ, बालकको भविष्य निर्माणमा हामीले कति सही गरेका छौँ । कति गलत ? गलत छन् भने आजैदेखि सुधारौँ। सही छन् भने अरूलाई पनि सिकाऔँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

दशैँ

लक्ष्मीप्रसाद पौडेल धनगढी, कैलाली बाले बोकालाई रातो टीका लगाए । घाँटीमा रातो धजा बाँधे ।…

2 weeks ago

विपद्मा अभिभावक गुमाएका बालबालिकाको संरक्षण अब राज्यको जिम्मामा

विपद्का कारण अभिभावक गुमाएका, परिवारबाट बिछोडिएका तथा असुरक्षित अवस्थामा पुगेका बालबालिकाको संरक्षणलाई राज्यको संस्थागत जिम्मेवारीका…

2 weeks ago

लघुकथा

जानकी कर्माचार्य ललितपुर,हरिसिद्धि "हजुरबुबा ! हजुर किन सधैँ यो अनलाइनमा कति बस्नु हुन्छ?" अनलाइन कार्यक्रम…

2 weeks ago

“हामी र हाम्रा नदी”

कृष्णशरण उपाध्याय पौडेल हामी जन्मनु पूर्व छल्छल थिए, सारा नदी का जल हाम्रो मृत्यु पछाडि…

3 weeks ago

अन्धभक्त

केशव नेपाल ‘नील’ बलेफी - ८, लामोसाँघु, सिन्धुपाल्चोक “होनित ! यो मोबाइल भन्ने चिजले आफ्ना…

3 weeks ago

मुकुण्डो

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया "गलामा माला, शिरमा टोपी।" सुकमान ‘आदर्श पुरुष’ को प्रमाणपत्र बोकेर घर…

3 weeks ago