बाल संवेदनशील पत्रकारिता सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

बालबालिकाको सर्वोत्तम हित, मर्यादा, गोपनीयता र सुरक्षालाई प्राथमिकतामा राख्दै जिम्मेवार तथा बाल संवेदनशील पत्रकारिताको प्रवर्द्धन गर्ने उद्देश्यले मङ्सिर ८ र ९ गते ललितपुरको गोदावरीमा दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) नेपाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) र प्लान इन्टरनेसनलको सहकार्यमा आयोजित कार्यक्रममा ३९ जना पत्रकारको सहभागिता रहेको थियो।
कार्यक्रममा बाल अधिकार, बाल संरक्षण, विपदमा बालबालिकाको अवस्था, लैङ्गिक उत्तरदायी पत्रकारिता, डिजिटल पत्रकारिता तथा बालबालिकाका सवालमा समाधानमुखी र जिम्मेवार समाचार सम्प्रेषणका विषयमा छलफल तथा अभिमुखीकरण गरिएको थियो।
बालबालिकाको आवाज र सवाललाई संवेदनशील, मर्यादित र जिम्मेवार ढङ्गले सञ्चारमाध्यममा स्थान दिन सबै पत्रकार तथा सञ्चारमाध्यमलाई सिजप हार्दिक आह्वान गर्दछ।