“भदाैकाे महिना”


रामप्रसाद पन्थी
रेसुङ्गा न पा २, गुल्मी

कल्ले पाे जान्याे भावीकाे खेल
ईश्वर महिमा
बनेर काल आयाे नि बाबा
भदाैकाे महिना।

त्याे दस गते बिहानी पख
पाखा नै थर्काई
साेहाेरी लग्याे बाढीले बाबा
मरक्क मर्काई।

त्याे भाेटे- काेशी त्रिशूली नदी
किन पाे रिसायाे
निर्दयी भई निर्दाेष मान्छे
बाढीमा मिसायाे ?

काेपिला मुना सुनाैला बाला
कसरी निमाेठ्याै
अबाेध शिशु निष्ठुरी दैब
कसरी चिमाेट्याै ?

उर्लदाे भेल ढुङ्गा र मुढा
हिर्काई छालले
संसार देख्न नदिई आमा
लग्याे नि कालले।

काखमै थिएँ हे मेरी आमा
भन न कहाँ छ्याै
हिलाेमा कता पुरियाै बाबा
पाइनँ केही भेउ।

मुटुका राेगी ती बुढा बाजे
साहारा नपाई
भङ्गालाे सित अङ्गालाे हाले
नचाही नचाही।

ती बुढी बजै नातिनी हेर्न
घरमै बसेकी
जीवितै छ्याै कि निरीह कतै
हिलाेमा फसेकी ?

टनेल भित्र थियाै नि दाजु
खबरै पाएनाै
जीवितै छु म भनेर खै त
अझै नि आएनाै ?

अफिस जान हिडेकी दिदी
भेलले हान्याे रे
उद्दार छाेडी राक्षसी जन
गहना तान्याे रे!

आकाश माथि उडेर काग
घुमेर फनन
सुबाेल बाेल सन्देश देऊ
देेखेकाे भन न!

हे गिद्ध स्याल
मर्याे कि भनी शंकाले नहेर
फेर्दै पाे छ कि देहले सास
बाँच्छु कि भनेर।

काे थियाे कहाँ के गर्दै थियाे
हाेस नै रहेन
कति भाे क्षति जन र धन
हिसाबै भएन।

नराेऊ चेली नपिट छाती
माइती मेटियाे
सहनै पर्ने रहेछ बरै
भाग्य नै रेटियाे।

प्रलय-कारी बनेर दैव
संहार नगर
भरमा तिम्रै दुनियाँ छ याे
नपार अभर।

अल्लाह खुदा ईश्वर इसा
मानिस बचाऊ
रचना तिम्राे सुन्दर सृष्टि
धरती सजाऊ।

फुटेर हैन जुटेर जाऊ
मानव जगत
जीवन भन्नु पानीको फाेका
रहेछ फगत।

नगर लाेभ ईर्ष्या र डाह
नगर कलह
मानव तिमी विनाशकारी
नबन सलह।

प्रकृति-सित खाेजेर जाेरी
विद्राेही नबन
भविष्य आफ्नै नामेट पार्न
खाडल नखन।

विकास गर भाेलिकाे पनि
जीवन सपार
हरा र भरा याे धरा राम्रो
उजाड नपार।

बिनती गर्छु मनुका तिमी
सन्तान मानव
क्षणिक सुख स्वार्थमा भुली
नबन दानव।

सुन्दर सृष्टि ईश्वर आफै
उजाड नपार
प्रकृतिसित निरीह मान्छे
भाे फूर्ति नगर।

बैकुण्ठ बास हुँदैछ आमा
भाे आँसु नझार
विष्णुका साथ हुँदैछु बाबा
भाे शाेक नगर।

जानू छ आखिर् ढिला या चाँडो
अधैर्य नगर
झुटाे छ संसार् माया र माेह
जालमा नपर।