नन्दलाल आचार्य
गोलबजार, सिरहा
”हेर्नुस् मास्टरजी, यो ढुङ्गाले कसरी सुन ओकलिरहेको छ !” स्कुल जाँदैगर्दा नदी किनारमा झुकेका अघोरीको कुराले म झस्किएँ । उनको हत्केलामा एउटा कुरुप कालो पत्थर थियो, जसमा ठोक्किएर घामका किरणहरू पहेँलो बनेर छरिएका थिए । मेरो आँखामा लोभको चमक नाच्न थाल्यो । ”के यो साँच्चै सुन नै हो त ?” मैले संशय मिसाउँदै सोधेँ । उनले रहस्यमय मुस्कानका साथ मलाई हेरे र भने, “यो सिद्धिको फल हो । तर संसारी मोहले यसलाई अपवित्र बनाउँछ । तपाईंको गलामा झुण्डिएको यो सुनको कण्ठी र हातको औँठीले यसको शक्ति नष्ट गरिदिन सक्छ ।” त्यो पारसमणि पाउने हुटहुटीमा मैले केही सोचिनँ । हतार-हतार आफ्ना गहना फुकालेर उनको पोल्टामा हालिदिएँ र त्यो पारसमणिमा झम्टिएँ । उनी “कल्याण होस् !” भन्दै जङ्गलतर्फ ओझेल परे । मैले हतारिँदै पारसमणिलाई नदीको पानीमा पखालेँ । तर, पखाल्दै जाँदा त्यसको चमक मधुरो हुँदै गयो र अन्त्यमा त्यो एउटा साधारण ढुङ्गामा परिणत भयो । अघोरी त धेरै पर पुगिसकेका थिए । मेरो मुटु ढुकढुक भयो, पछुतोले शरीर जल्यो । क्रोधले आँखा राताराता भए । म स्तब्ध भइरहेकै बेला अघोरी अचानक फेरि प्रकट भए । उनले मेरो हातबाट त्यो ढुङ्गा थुते र शान्त भावमा भने, “मूर्खलाई झुक्याउनु ठूलो कुरा होइन मास्टरजी, तर आफैँ मूर्ख बनेर अरूको नियत बुझ्नु चाहिँ महान् चातुर्य हो ।” म ट्वाल्ल परेँ । उनले मेरा गहनाहरू फिर्ता दिँदै थपे, “लिनुस् तपाईँका गहना, र अबदेखि यो लोभको ऐनामा आफ्नो अनुहार नहेर्नुहोला !”
सुयोग ढकाल हाम्रो पात्रो नयाँ वर्ष विक्रम संवत् २०८३ आजदेखि हाम्रा सामु उपस्थित भएको छ…
प्राशन्न धेरै पहिलाको कुरा हो एउटा कुशलपुर नाम गरेको शहर थियो। शहर एकदमै रमाइलो थियो…
दुर्गा घिमिरे ‘जीवनको लक्ष्य’ विषयमा निबन्ध लेख्नु,” भनेर म कक्षाबाट बाहिरिएको थिएँ। भोलिपल्ट कपी उठाएर…