
रम्भा पौडेल
किशोरको हात समाउँदै सविता मिस आफ्नो कक्षमा प्रवेश गरेको देखेर हेडसरले भन्नु भो –“आज फेरि के भयो ?”
“सर ! यो बच्चालाई त पढाउनै नसकिने भयो । बदमास पनि यति भयो कि समाल्नै सकिँदैन । पछाडिबाट यो सुइले निसमालाई घोचेर रुवाइछाड्यो । कहिल्यै सफासुग्घर भएर आउने पनि होइन । लौ हेर्नुहोस त, यसको अनुहार ! यो जाडोमा कसरी आउँछ । एउटा सुइटर पनि छैन । सधैँ जाडोले थर्थरी काँपिरहेको हुन्छ । यसको झोलामा कलम कहिल्यै हुँदैन, सधैँ अरुको कलम चोरेर हैरान पार्छ । गृहकार्य कहिले गर्ने पनि होइन ।” सविता मिसले एकै सासमा हेडसरलाई गुनासो सुनाउनु भयो र फेरि भन्नुभयो , “विद्यार्थी जम्मा गर्ने मात्र हैन, अलि राम्रा छानेर मात्रै भर्ना गर्नु पर्यो क्या सर ?”
“यो सरकारी स्कुल हो म्याडम ! कहाँ हामीले रोजेर मात्र भर्ना गर्न पाउछौँ र ? हाम्रो विद्यालयको पायक पर्ने क्षेत्रभित्रका विद्यार्थीलाई भर्ना गर्नु हाम्रो कर्तब्य हो । यस्ता विद्यार्थीलाई संस्कार सिकाएर मुस्कान सहित पढाउनु हाम्रो कर्तब्य हो । संस्कार र मुस्कान सहितको शिक्षाले नै उनीहरुको जीवन सहज हुनेछ ।”
“यस्ता गरीब विद्यार्थीहरुलाई निशुल्क पढाउने गरी कसले भर्ना गर्छ र ? यिनको पढ्न पाउने अधिकार खोस्नु त भएन नि !” हेडसरको भाषण बढ्दै गयो।
“हामीले यस्तै विद्यार्थीलाई होनहार बनाउन सक्यौँ भने बल्ल हामी अब्वल शिक्षक हुन्छौँ । राम्रा ,सुकिला, संस्कारी, अनुशासित विद्यार्थीलाई त जसले पनि पढाउन सक्छ नि । बरु अभिभावक भेला गरौँ । न्यानो लुगा नहुनेहरु कति छन्, नाम संकलन गरौँ र न्यानो लुगा बाँडौँ । त्यसको लागि कसरी हुन्छ म व्यबस्था मिलाउँछु ।
जसरी हुन्छ यिनलाई स्कुल आउने त बनाउनै पर्छ । विद्यार्थी नै हाम्रा गहना हुन् । यी भएनन् भने त स्कुलको के सोभा हुन्छ र म्याडम ? हामीले धैर्यताका साथ काम गर्नु पर्छ ।”
सरले भन्दै जानु भो– “यिनले पढाई लेखाई, लवाइ खवाई, हिडाई–बोलाई सबै कुराको संस्कार घरबाट पाउन छाडिसके । हामीले नै सिकाउनु पर्छ । संस्कार नपाएको विद्यार्थी जीवनभर रुन्छ ।”
सरको भनाइ नसकिँदै मिसले प्रश्न गर्नु भो, “कति सजिलो हाम्रा अभिभावकलाई । सरकारी स्कुलभित्र आफना बच्चा घचेटी दिए पुग्ने है सर ?”
“हो नि, तर के गर्ने, विबस छन धेरै यस्ता परिवार । हामीले विद्यार्थीको पठनपाठन राम्रो बनाउनका लागि सर पारिवारिक पृष्ठभुमि पनि बुझ्नै पर्दछ । घरमा आमाले छोडेर हिडेको छ कि, बाबुले अर्कोबिहे गरेर हिँडेको छ कि ? अर्काको घरमा बस्छन् कि ? अनेकौँ समस्या झेल्ने विद्यार्थी आउँछन् । तिनका समस्याहरु हामीले केलाउनै पर्दछ।”
हेडसरले भन्दैजानुभयो, “उनीहरुले तपाईँहरुलाई आफ्नै आमाजस्तै देख्न सके भने अझ रमाउने छन् म्याडम ।”
“त्यो त हो सर ।” अफिसमा बसेकी अर्की शिक्षिका संगिताले भन्नु भयो।
“ल, अहिले कक्षामा जानुस, म यसको लुगाको ब्यबस्था गरौँला ”भन्दै सरले मिसलाई पठाउनु भयो।
हेडसरले अभिभावक भेला राख्नु भो । अभिभावकलाई जाडोमा आफ्ना नानीहरुलाई विशेष ध्यान दिन आग्रह गर्दै न्यानो लुगा बाँड्नु भो।
किशोर न्यानो लुगा लगाएर दंग पर्दै आफ्नो कक्षामा प्रवेस गर्यो । उसले मुसुक्क मुस्काउँदै रेसमा मिसलाई, “मे आई कम इन मिस” भनेर सोध्यो। मिसले सफा र न्यानो लुगामा किशोरलाई देखेर खुशी हुँदै ‘कम इन’ को संकेत गर्नु भो ।





