
रामप्रसाद पन्थी
रेसुङ्गा न पा २,गुल्मी
पाेहाेर सम्म आमासित
मामा घर जान्थें म
मामाघर टन्न दर
खिर खान्थें म।
यस्पालि त मामा घर
लग्याे भन्छन् बाढीले
आमा भन्छिन् पिर पार्याे
राताे साडीले।
पाेहाेर साल हाे नि नानी
भाइले साडी दिएकाे
आमा रूदै भन्छिन् ऐले
पैह्राे गएकाे।
गाेठभरि लैना गाई
भैंसी बाख्रा साेहाेरी
गाउँ सबै लग्याे
दैव भयाे निठुरी।
देशैभरि शाेक छायाे
आफ्ना मान्छे हराए
जाने गए यता देश
शून्य गराए।
जिउँदो मर्दाे थाहा छैन
अझैसम्म कसैकाे
पहिचान हुन सक्या छैन
लासैकाे।
लास लुछी सुन तान्ने
राक्षस जन देखियाे
के नै गर्न सक्थें बरै
दुःख पाेखियाे।
लासभन्दा ग्यास प्याराे
लाग्याे काेही कसैलाई
जहाँ चाेट लाग्याे मुटु
दुख्याे उसैलाई।
बस्ने खाने टुङ्गो छैन
बाँचेका ती भाेकै छन्
रातदिन दैव ईश्वर
अझै राेकै छन्।
राहतकाे खाजा लत्ता
कता गयाे था´ छैन
सर्कारकाे मान्छे काेही
यता आ´ छैन।
जता गयाे उतै सुन्छु
दुःख पीडा हैरानी
बिर्सूं भन्छु दिन उहीँ
झल्काे आइर´नी।
दुःख,पीडा,शाेक बीच
चाड तीज मनाई
यस्पालि त मैले दर
खान्न बरिलै।
मनभरि पिर चिन्ता
बेथा मात्रै लिएर
साथीसित नाच्न म त
जान्न बरिलै ।





