
बिष्णु उप्रेती
बिर्तामोड झापा
“माथिल्ला घरकाे टंके एस एल सी फेलले महिनाकाे दुईलाख , घर पठाउछ। तँ नाथे बि ए पास , आजसम्म एककौडाे पठाउँदैनस्। केहाे तेराे पारा ? कि केटी र रक्सिमा उडाउछस् सबै ? एकाबिहानै बिदेशमा भएका छाेरालाई हप्काए श्रीराम काकाले।
“कति कराउनु हुन्छ बुबा , बिहान बिहानै। उसको र मेराे तुलनानै गर्न मिल्दैन । एस एल सीमा उ फेलभयाे , म पास भएँ । दुर्भाग्य यही भयाे। उसका बाबुले उसलाई काम सिक्न पठाए । उसले धेरै सीपहरु जान्याे। मलाई राताेदिन खाली पढ पढ मात्र भन्दै अक्षरहरु रटाउनु भयाे। आज उसले न जानेकाे केहिछैन, मैले जानेकाे केही छैन। आज उ फ्रिज ,वासिङमेसिनकाे उद्योगमा मेकानिक छ । म हाेटलमा वेटर छु। अनि कति पैसा कमाएर पठाउँ त म घरमा” छाेराले गनगन् गर्याे।
“तेसाे भए तुरुन्त घर आइज त । किन बस्छस् त बिदेशमा ,कमाई नधमाई ।”
“त्याँहा नेपाल आएर म के गरौँ ? के दिनैपिच्छेका र दलै पिच्छेका नारा जुलुसमा, ढुङ्गा मुडा, आगजनी र ताेडफाेड गर्दै हिडूँ ?





