
मोक्ष खतिवडा
चौथो घण्टीको अन्तिम तिर वि .व्य. समिति अध्यक्ष कार्यालयमा पस्नुभयो। उहाँले धिरेन सरलाई खोज्नु भयो।
धिरेन सरलाई नभेटे पछि अध्यक्षले अलि आक्रोशित मुद्रामा प्र.अ. तिर हेरेर भन्नुभयो- ” सरले पनि केही चासो त राख्नु पर्छ भन्ने लाग्छ है मलाई।”
“हैन धिरेन सरले त्यस्तो के गर्नु भएछ ? कुरो प्रष्ट भएन नि ?” प्र अ ले अध्यक्ष समक्ष अनभिज्ञता प्रकट गर्दै भन्नुभयो।
“भर्खरै अर्को स्कूलबाट यहाँ आउनु भएको छ धिरेन सर। यसो वहाँको कक्षा नियाल्नु पर्दैन ? अनि पो सबैकुरा थाहा हुन्छ त ।” अध्यक्षले कडैरूपमा जवाफ फर्काउनु भयो।
सोही बेला संयोगले कार्यालयमा आइपुगेका धिरेन सरले आफ्नो बारेमा चर्चा हुँदै गरेको सुनेर भन्नुभयो- ” हैन कुरो त मेरै बारेमा भए झैँ लाग्यो।”
“हो कुरा तपाईँकै बारेमा हुँदैछ।” अध्यक्षले अलि कडै आवाज निकाल्नु भयो। “तपाईँको तेस्रो घण्टीको कक्षामा तपाईँले गरेका नराम्रा क्रियाकलापको कुरा मलाई समितिकै एक सदस्यले तत्काल सुनाउनु भयो।”
कुरा सुनिरहनु भएका प्र. अ बोल्नु भयो – ” हैन खास कुरो चाहिँ के हो? धिरेन सर बाटै सुनौँ त। ” प्र अ को आग्रहमा धिरेन सरले स्पस्ट पार्दै भन्नुभयो -“मैले पाठ अनुसार विद्यार्थीहरुलाई नजिकैको मन्दिरमा लगेर त्यो मन्दिरको इतिहास,स्थलगत जानकारी साथै नैतिक शिक्षाको ज्ञान आदि बारे जानकारी दिने उद्यश्य अनुसार सिकाई गरेको हूँ।”
“ओहो! मैले सुनेको कुरामा यथार्थता रहेनछ। “धिरेन सरलाई हौसला स्वरूप धन्यवाद दिँदै अध्यक्ष सर बाहिरिनु भयो।





