
अन्जु चालिसे रूपान्जली
आरुबारी
“छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा किन टार्छेस् ?”
आमाको स्वरमा आग्रहभन्दा चिन्ता बढी थियो।
अनिता केही बोलिन।
“कस्तो जीवनसाथी चाहिन्छ त ?”
“जससँग जीवन रोज्नुअघि मन मिलोस् ।”
आमाले छोरीको अनुहार हेरिरहिन्।
त्यसै साँझ बुबाले एउटा तस्वीर ल्याएर अनितासामु राखे।
“केटा राम्रो छ । पढेलेखेको छ । परिवार पनि राम्रो । हाम्रो जातकै हो।”
अनिताले तस्वीर उठाई। केहीबेर हेरिरही।
“उहाँलाई मेरो बारेमा के थाहा छ ?”
“त्यो त भेटेपछि थाहा भइहाल्छ ।”
“अनि मलाई उहाँको बारेमा ?”
बुबा चुप लागे। अनिताले तस्वीर बिस्तारै टेबलमा राखी।
“बुबा, जीवनभर सँगै हिँड्ने मान्छे छान्दा थर, जात र घर हेरेर मात्र पुग्छ र ?”
बुबाले छोरीतिर हेरे। केही बोलेनन्।
छेउमै बसेकी आमाको हात अनायास आफ्नै औँलीमा पुग्यो। उनले केहीबेर पुरानो औँठी छामिरहिन्।
“हामीले त यी कुरा सोध्ने अधिकार पनि पाएनौँ,” उनले बिस्तारै भनिन्।
बुबाको नजर आमाको हातमा अडियो।
कोठामा केही बेर मौनता छायो।
बुबाले टेबलमा रहेको तस्वीर उठाए। उल्ट्याएर पछाडिको फोन नम्बर हेरे। मोबाइल निकाले, नम्बर थिचे र एकछिन रोकिए।
“पहिले तिमीहरू दुईजनाले एकअर्कालाई बुझ,” उनले भने, “विवाहको कुरा त्यसपछि गरौँला।”





