
दुर्गा घिमिरे
देउराली भञ्ज्याङमा रोपाइँ सुरु भएको खबरले गाउँ नै उत्सवझैँ बनेको थियो। मानो रोपेर मुरी फलाउने आशामा किसानहरू बिहानैदेखि खेततिर झरेका थिए। तर यसपालिको रोपाइँले दुई फरक पुस्ता र सोचलाई आमनेसामने उभ्याइदिएको थियो।
खोला पारिको ताक्मारे पुछारमा राममानका खेतालाहरू आधुनिक बनेका थिए। उनीहरू आलीमा बसेर बजारबाट ल्याइएका मःम र चाउचाउ खाइरहेका थिए।
“यो जमानामा पनि कसले ओखलमा चिउरा कुट्छ र ? तयारी चाउचाउभन्दा सजिलो र मिठो के छ र!”
एक जना युवाले चाउचाउ मुखमा हाल्दै भन्यो। प्लास्टिकका प्लेट र चम्चासँगै उनीहरूको गफ पनि आधुनिकताकै वरिपरि घुमिरहेको थियो।
उता, देउराली भञ्ज्याङको आलीमा भने अर्कै रौनक थियो। त्यहाँ बूढापाकादेखि युवासम्म घरमै कुटेको रातो चिउरा, भुटेको मकै तर्कारी र अमिलो अचारमा रमाइरहेका थिए। दुनो र टपरीमा पस्किएको खाजाको सुगन्धले वरिपरिको हावा नै मिठासले भरिएको थियो।
दिउँसो टन्टलापुर घाम लागेपछि ताक्मारेका खेतालाहरू कराउन थाले।
“अहो, पेट काट्यो… पानी देऊ त !”
तयारी चाउचाउ र मःमको चिल्लोले उनीहरूलाई जाँगर दिनुको सट्टा आलस्य थपिदिएको थियो। हिलोमा पस्नै उनीहरूलाई सकस परिरहेको थियो।
तर देउराली भञ्ज्याङतिर भने बेग्लै उत्साह थियो। चिउरा र दही-अचार खाएका किसानहरू असारे भाका हाल्दै रोपो रोपिरहेका थिए।
साँझ पर्नुअघि नै देउराली भञ्ज्याङका खेत हरिया रोपोले ढाकिइसकेका थिए। उता ताक्मारे पुछारमा भने आधा खेत अझै बाँकी थियो।
रोपाइँ सकेर किसानहरूले सन्तोषको लामो सास फेरे। आज खेतको आलीले नै प्रमाणित गरिदिएको थियो— आधुनिकताको नाममा आफ्नै रैथाने, पोसिलो संस्कृतिलाई बिर्सनु हुँदैन।





