“फर्की आऊ युवा तिमी”


डा छायादत्त न्यौपाने

फर्की आऊ युवा तिमी
बाँझो खेत भन्छ
श्रम गरे हात चले
घरै उजेलिन्छ।

सिप सिके जाँगर गरे
माटो मुस्कुराउँछ
आफ्नै खेतबारी खने
बाली लहराउँछ।

तराई पहाड हिमाल
यी सँगै हाँस्नुपर्छ
जीवन जिउने कला हाम्रो
लय गाँस्नुपर्छ।

फुलै फूल बाेट यहाँ
कसले गाेडिदेला
हाम्रै भाका देउरालीमा
कसले गाइदेला।

धर्तीभरि हरियाली
सिर्जनाले ल्याउँछ
कर्मवीर नेपाली हाे
यहीँ रमाउँछ।

बाबाआमा छाेराछाेरी
दिन रात गन्छन्
भाइबहिनी युवाहरू
केही गरौँ भन्छन्।

सिपजाँगर बटुली
आऊ उद्यमी बनौंला
आमा काख देश
लाख शिर उठाउँला।