“लक्ष्यतिर लागौँ”


देव भट्टराई

सारङ्गी जति रेट, रेट जसरी निस्कन्छ मीठो धुन।
आगोमा जति पोल, पोल जसरी टल्किन्छ राम्रो सुन ॥
ज्ञानी-मानिसका निमित्त नखरा ताली र गालीहरू ।
सङ्लिन्छन् जलधारसाथ मिसिए फोहोर नालीहरू ॥

जस्तै उच्च हिमाल नै किन नहोस् आकाश आकाश हो।
अस्थायी भ्रम देखियो क्षितिजमा के जोडियो खास त्यो?
के हो सत्य असत्य छेउ नगई जो राखियो धारणा।
साँचो द्वार खुलेन, खुल्छ कसरी ? स्वस्वार्थको कारण॥

माछा किन्न भनेर हाट गइयो मायाँ किनी फर्कियो।
आँखा झिम्म झिमिक्न पार्न नपुगी सौदामिनी घर्कियो॥
आफैँ छान्नुछ आजको समयमा के को छ आवश्यक।
भित्री आशय के छ खास निजको माछा कि मायाँतक?

बाटो बन्छ अगाडि यात्रुगण हो उद्देश्य पुग्नेभए।
केही ठोस अठोट धैर्य लिइयोस् गन्तव्य चुम्नेभए॥
धेरैपल्ट लडेर उच्चगिरिमा छन् माथि पुग्नेहरू।
बाँकी यात्रु कहाँ कता छ गणना ? फर्की झरेका अरू॥

शालिग्राम हुनेभए रहरले-मात्रै कहाँ पुग्छ र ?
वर्षौंका इतिवृत्त बुझ्नुछ कहाँ-कस्तो महादुःख छ॥
आजै दाइँ गरौँ हतार छ यहाँ रोपाइँ आजै गरी।
कस्तो व्यक्ति समाज सिर्जित भयो देखिन्न लाजैधरि!!

स्थायी शत्रु तथा छ मित्रु कसको ? जन्ती मलामी अरे !
तारा झार्छ बिहान, स्वार्थ नमिले गर्नेछ गाली भरे ॥
वा वा को पछि लाग्नुछैन नदले ऊ बग्नु नै धर्म हो।
आफ्नो लक्ष जता त्यतातिर कुदौँ यो काव्यको मर्म हो ॥