“लाखौँ छ यो कामना”


सुधिर थापा

छन्द :- शार्दूलविक्रीडित

जन्मे भानु उता पवित्र कुलमा रम्घा चुँदी त्यो जहाँ
यै रामायण भो अथाह यिनको हो काव्य मीठो यहाँ
तारा शुक्र भई रहेर नभमा चम्केर आफैँ रह्याै
नेपाली जनमा अनन्त अझ यो भाषा दिएरै गयाै

घाँसी भेट भयो बिचार अनि त्यो उस्को छ ठूलो कति
सारा जीवन यो बुझेर उनले मिल्दै गयो ओखती
घाँसीको उपदेश हेर अझ त्यो सत्मार्ग लाने रह्यो
आफ्नै चक्षुहरू खुलेर यिनका झन् ज्ञान खुल्दै गयो

लेखेछन् कविता अपार कति यो उस्तै छ साँचो कुरा
बाटो खोलिदिए अनन्य भवमा सत्मार्ग लाग्ने पुरा
आफ्नै कान्तिपुरी अपूर्व रहदा उद्यान थुप्रै रहे
धर्तीको महिमा खुलेर अझ त्यो झन् काव्य लेख्दै गए

आस्था पुञ्ज सधैँ भएर नभमा नक्षत्र बन्दै गयाै
तिम्रो ज्ञान सबै छरेर भवमा प्यारो भएरै रह्याै
लाग्याै दूर कतै अनन्त पथमा सत्मार्ग खोज्दै कति
तिम्रो भेट्छु अझै सुवास जगमा झन् सम्झना भो अति

भाषाको ममता गरेर कति यो आलोक बन्दै गयाै
नेपाली मनमा अनन्त अझ यो बाँचेर उस्तै रह्याै
तिम्रो त्याग छ यो विशेष भवमा को आज बिर्सन्छ र?
छैनाै साथ यहाँ तिमी त अहिले उस्तै छ माया तर

नेपाली मनमा रहेर यिनले थुप्रै त आशा भरे
भाषाको महिमा बुझेर कति यो भाषा बिकासै गरे
आफैँमा प्रतिभा अथाह कति थ्यो भै उच्च त्यो भावना
तिम्रो जन्म भयो यही अवनिमा लाखाैँ छ यो कामना!