
दुर्गा पी अधिकारी
सिङ्ताम, सिक्किम
पानी सिमसिम परिरहेको छ। ईन्द्रलाल र कमलध्वज (बाबु-छोरा)-को गफ चल्दैछ।
“छोरा उमेर ढल्कँदै छ, बुहारी घरमा भित्र्याउने कुरै गर्दैनस् त !”
“कसरी बिहे गर्नु र बाबा, सबै कुराको चाँजो मिल्नुपर्छ। जाबो एउटा सानो अस्थायी नोकरी गर्नेलाई आफ्नै जीवन धान्न हम्मे हम्मे परिरहेको अवस्था छ।”
“त्यसो भनेर कहाँ हुन्छ र छोरा? आ-आफैँ व्यवस्थित भइहाल्ने कुरा हो। मेरो बिहे गर्ने कुरा हुँदा म पनि यस्तै सोच्ने गर्थेँ। पछि आएर आफैँ व्यवस्थितरुपमा मेरो जीवन चलेको हो।”
“बाबा, त्यो जमाना र यो जमानामा आकाश पातालको फरक छ। खेतीपाती र पशुपालनमा हजूरहरू निर्भर हुनुहुन्थ्यो। मौसम अनुसार खेतिपाती लगाउनुहुन्थ्यो। घरको ढिकुटीमा अन्न टम्म हुन्थ्यो, घरका वरिपरि मकैका झुत्ताले बेरिएको हुन्थ्यो। गोठमा गाई भैंसी टम्मै हुन्थे। घरमा धेरै जहान हुन्थे। सबैले आ-आफ्नो काम जिम्मेवारीपुर्बक गर्थे।न सरकारबाट कुनै सौलियत थियो। शान्त वातावरणमा थियो, एकाअर्कालाई सहयोगको हात अगाडि बढ्थ्यो। आज यस्ता सबै कुराबाट हामी बन्चित भयौँ। विकासको नाममा विनाश निम्त्यायौँ। हाम्रो प्रजनन दर दिन दिनै घटेर गयो। हाम्रा पिता पुर्खाहरू खेती र पशुपालनमा पारंगत थिए भन्ने अब इतिहासमा सिमित रह्यो।”
छोरो कमलध्वजको कुरा सुनेर ईन्द्रलाल पुर्पुरोमा हात लगाएर केहिबेर सोँच्न बाध्य बने।





