शक्तिशाली

रञ्जु खनाल

विश्व वातावरण दिवसमा गाउँका केही सचेत युवा पिँढीहरूले खाली पाखामा पाेथ्राहरू राेप्दै थिए । याे देखेर जङ्गलले प्रफुल्ल हुँदै भन्न थाल्याे -” अब त बाढी पहिराे हावा हुरीले मेराे केही लछार्न सक्तैन । मेरा रूखहरूकाे सङ्ख्यामा वृध्दि भएपछि मजस्ताे शक्तिशाली काेही हुन सक्तैन ; न पहिराे न हावाहुरी ।” याे सुनेर वायुले केही वायुझाेक्का छाेडेर हाँस्याे।
बाढी चाहिँ पानी नपर्नाले जमिनमुनि धस्सिएर बसेकाे हुँदाे थाेरै भए पनि सुसायाे । पहिराेले पनि बाढीकाे भराेसामा कटाक्ष गर्दै भन्याे -” हेर्दै जाऊ न जङ्गल आउदाे वर्षायाममा के के हुनेछ । यी पाेथ्राहरूलाई कहाँ हुर्कन दिउँला र ?” पातलिँदै गएका ठूला ठूला रूखका बीचमा पाेथ्राहरू लगाउने काम सकियाे । फाेटाहरू खिचिए । मुहार पुस्तिकामा पाेष्ट्याइए पनि । समाचार प्रसारण भयाे अनि पत्रिकामा सानाे खबर बन्याे पनि।
पछिल्लाे साल युवापुस्ताहरू विदेशिए । बूढाबूढीहरू रूख राेप्न पाखातिर जान सकेनन् । वर्षा ऋतुकाे आगमनासँगै पानी पर्न सुरू भयाे । लगातार वर्षाका कारण एक बर्ष नपुगेका पाेथ्राहरूलाई पानीले डुबायाे । ठूला रूखलाई धर्म थाम्न हम्मे हम्मे परिरहेकाे थियाे।
पानी पर्दा बाढी खुसी हँदै अगाडि बढिरह्याे । याे देखेर हावा पनि के कम थियाे र ? सुसाउँदै रूखका हाँगालाई छिन्न भिन्न गराउँन थाल्याे । पहिराेले आफ्नाे वेग तीव्र पार्याे ।
अन्त्यमा बाढी , पहिराे अनि हावा मिलेर जङ्गललाई भने -” काे शक्तिशाली बन्याे त जङ्गल ; तिमी कि हामी ?”