“शरीर”


हेमराज अधिकारी
सिक्किम भारत

कक्षा शान्त थियो। मास्टरले चस्मा ठीक गर्दै सोधे। “लु भन, शरीर के हो?”
अगाडिबाट एक बालक उठ्यो। “शरीर त ज्यान हो, सर।”
मास्टरले फेरि सोधे। “अनि ज्यान?” “ज्यान जिन्दगी हो, सर।” पछाडिबाट कसैले कुर्कुरायो।
“फटाहा जस्तो नबन, ठीक भन।” कक्षामा हल्का हाँसो चल्यो, तर मास्टरको मुखमा गम्भीरता झनै गाढा बन्यो।
“नानीहो, शरीर हड्डी र नशाको जाली हो। बाहिरतिर मासु र छालाले छोपिएको, जसलाई प्रकृतिले अरू जनावरले नटोकून् भनेर बनाएको कवच मात्रै।”
केटाकेटीहरू अचकचाए। कसैले हात छाम्यो, कसैले गाला। “यत्रो मूल्यवान जिन्दगीको खोल यत्ति सस्तो?”
एकले डरमिश्रित स्वरमा सोध्यो। मास्टरले टेबलमा हात टेके।
“हो, बाहिरी खोल त यत्ति नै हो। तर मान्छे बन्ने कला भित्र हुन्छ। सोचको उज्यालोमा, मनको करुणामा, र कर्मको सत्यतामा। शरीर त अस्थायी पुतली हो, तर भित्र बस्ने मान्छे नै अमर हुन्छ।”
अब केटाकेटीहरूले आफ्नो शरीर छामे।घृणाले होइन, अचानक जागेको बोधले। कक्षामा फैलिएको मौनता कुनै डरको थिएन। मान्छे हुने गहिराइ पहिलोपटक अनुभूत भएको मौनता थियो।