
अनिल गुरुङ
गिंग लेबोङ
बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु होस् ल। छोरा आर्यनले आँखामा सपना राखेर भन्यो।
“ल छोरा, यदि तिमी यो पालि फस्ट भयौ भने पक्का किनी दिन्छु।” बाबाले पनि वचनको भारी बोक्नुभयो। त्यसपछि आर्यन दिन-रात किताबसँगै लडीरह्यो। बत्ती गए पनि चार्जेबल लाइट बाल्यो। साथीको बोलावट काट्यो। नभन्दै परीक्षा आयो र नतिजाले सबैलाई अचम्मित पार्यो—आर्यन क्लासमै फस्ट।
भोलिपल्ट बाबाले बचन पूरा गर्नुभयो। बजारबाट चम्किलो फोन ल्याएर छोराको हातमा थमाइदिनुभयो। “ल बाबु, यो तिम्रो मेहनतको पुरस्कार हो। तर यसको सदुपयोग गर।” बाबाले फोनको फाइदा-बेफाइदा सबै बुझाउनुभयो। आर्यनले टाउको हल्लायो, तर मनले सुनेन।
दिन बित्दै गए। फोनको स्क्रिन उज्यालो हुँदै गयो, आर्यनको आँखा भने निस्तेज हुँदै गयो। उठ्ने, खाने, पढ्ने, सुत्ने सबै घडी अब “गेम अनलाइन” को घण्टीले चलाउन थाल्यो। आमाको “खाना खा बाबु” भन्ने स्वर उसलाई झर्को लाग्न थाल्यो। बाबाको सल्लाह सुनेपछि उसको भौँ झड्किन थाल्यो। ठूलालाई नमस्ते गर्ने हात अहिले फोनको स्क्रिन स्वाइप गर्न मै व्यस्त भयो। घरको मौहलमा हाँसो हरायो, कोलाहल मात्र बाँकी रह्यो।
एक दिन गाउँबाट हजुरबुबा आउनुभयो। नातिलाई २४ घण्टा स्क्रिनमा टाँसिएको देखेर उहाँ केही बोल्नुभएन। निस्तब्ध बस्नुभयो।
त्यही रात अकस्मात् बत्ती गयो। ट्रान्सफर्मर फेर्ने भएकाले भोलिसम्म अँध्यारो। आर्यनको फोनको ब्याट्री पनि १% मा पुगेर निभ्यो। संसारै अन्धकार। न गेम, न नेट, न साथी। बोर भएर ऊ हजुरबुबाको छेउमा बस्यो।
हजुरबुबाले चार्जेबल लाइटको मधुरो उज्यालोमा मुस्कुराउँदै सोध्नुभयो, “नाति, आज कथा सुन्छौ?”
“सुन्छु हजुरबा।” बाध्यताले होस् वा एक्लोपनले, आर्यनको जवाफ छोटो थियो।
हजुरबुबाले कथा सुरु गर्नुभयो—श्रवणकुमारको। आँखा नदेख्ने बाबा-आमालाई काँधमा डोको हालेर तिर्थ गराउने छोरो। न मोबाइल थियो, न इन्टरनेट। थियो त केवल सेवा र समर्पण।
हजुरबुबाले आर्यनलाई मृदुभाषामा सम्झाउनु भयो- “आमा-बाबुले कहिल्यै आफ्ना छोराछोरीको अहित चाहँदैनन्। उनीहरूको जिब्रोबाट निस्कने दुई शब्द पनि सन्तानका लागि अमृतकै धारा हुन्छ।
विद्यालयको चारभित्ताभित्र तिमीले किताबी ज्ञान बटुल्लौ, त्यो राम्रै कुरा हो। तर जीवन बाँच्ने कला, असल संस्कार, शिष्ट व्यवहार, ठूलालाई आदर गर्ने शिष्टाचार अनि अनुशासनको पाठ सिक्ने पाठशाला घरै हो। र यो पाठका पहिला शिक्षक तिम्रा आमा-बाबु नै हुन्।
आमा-बाबुसँग कहिल्यै चर्को स्वर नलागोस्। “तपाईँहरूले मेरो लागि के गर्नुभएको छ र ? तपाईँहरूलाई केही पनि थाहा छैन। तपाईँहरू मलाई सधैँ रोकटोक गर्नुहुन्छ। मेरो मामिलामा धेरै दखल नदिनुहोस्” भनेर कहिल्यै आफ्ना जन्मदातालाई नभन।
कारण के हो भने, जसको काँधमा बसेर तिमीले संसार देख्यौ, जसको अँध्यारो रातको निद्रा बेचेर तिमीले उज्यालो भविष्य किन्यौ, जसको पसिनाको थोपा-थोपाले तिम्रो सपनाको इँटा जोडियो—त्यही हातमाथि स्वर उठाउनु भनेको आफ्नै जरा काट्नु सरह हो।
आमा-बाबुको रोकटोक प्रेमको अर्को नाम हो, दखलअन्दाज चिन्ताको अर्को रूप हो। उनीहरूले नबुझेको कुरा यो संसारमा केही पनि छैन—किनभने उनीहरूले तिमीलाई बुझेर नै यो संसार देखाएका हुन्।
त्यसैले स्वर होइन, सम्मान गर। प्रश्न होइन, प्रणाम गर। किनभने तिम्रो उज्यालो हाँसोको पछाडि उनीहरूको हजारौँ अँध्यारो रात लुकेको छ।”
आर्यन चुप लाग्यो। बाहिर कुकु चरा कराइरहेको थियो, भित्र उसको अन्तरआत्मा। फोनको कालो स्क्रिनमा उसले आफ्नै अनुहार रिसाएको, थाकेको र एक्लो देख्यो।
बिहान बत्ती आयो। फोन चार्जमा लगायो। तर पहिले उसले हजुरबुबाको खुट्टा छोएर नमस्ते गर्यो। आमालाई एक गिलास पानी दियो। बाबालाई भन्यो—”बाबा, माफी गर्नुहोला। अबदेखि फोनलाई राम्रो कुरा र पढाईको बिषयको लागि मात्र प्रयोग गर्ने छु भनी प्रतिज्ञा गर्यो।
भोलि देखि, सधैँ क्लासमा फस्ट आउनेछु भनी पढाईमा खुब मन लगाएर आर्यन पढ्न थाले।





