सङ्घर्ष


भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर

बसपार्कमा कसैले हात हल्लाएर आवाज दियो, ” मनिता ए मनिता।”
लामो समयको अन्तरालमा बालापनका साथी मनिता र जमुना भेट भएका छन् । उनीहरू अङ्गालोमा बेरिए र हात मिलाए अनि खुसी हुँदै चौतारीमा बसे । दु:खसुखका कुरा गर्न थाले । सामाजिक सञ्जालमा जोडिए पनि प्रत्यक्ष भेट चाहिँ भएको थिएन । दुबैका अनुहार उज्याला छन्।
मनिताले खुसी हुँदै सोधी, ” के गरेकी छौ, हिजोआज ? बालबच्चा कति भए ?”
जमुनाले जवाफ फर्काई, ” सहकारीमा अल्झिएकी छु, छोराछोरी दुबै पढाइमा व्यस्त छन् ।” उसले हालचाल बताई
जमुनाले उसको मुहारमा हेर्दै उत्सुकताले भरिएको नजरले सोधी, “के छ त तिम्रो खबर, दिनचर्या कसरी बितेका छन् ? खुबै व्यस्त देखिन्छ्यौ त !” उसले जिज्ञासा राखी।
उसले विगत सम्झदै बताई, ” दु:ख सङ्घर्ष त कति हो कति ? म्याट्रिक पास भएपछिको विहे अनि बालबच्चा, घरको जिम्मेवारी, बाह्र वर्षपछि पढाइलाई निरन्तरता दिएर स्नातकोत्तर सकी शैक्षिक पेसामा आबद्धता रहेको बताई।” उसले चाहेको जस्तो सजिलो नहुने रहेछ भन्दै खिन्नता व्यक्त गरी।
जमुनाले केही ढाडस दिँदै भनी, ” जहाँ इच्छा त्यहाँ उपाय भन्थे, सही समयमा लिएको निर्णयले मानिसलाई असाधारण बनाउँछ क्या ! तर असम्भव चाहिँ नहुने रहेछ हगि ।” उसले सान्त्वना दिई।
मनिता गम्भीर हुँदै, ” कसैको हाँसोको पर्वाह नगरी निरन्तरता दिइयो भने सङ्घर्षभित्र पनि हर्ष लुकेको हुँने रहेछ ।” उसले नजर जुधाउँदै मन्द मुस्कानले भनी।