“छन् अति सुन्दर गाउँहरू”


गणेश आत्रेय
मदनपोखरा,पाल्पा

ती जननी घर जन्मथलो;
जीवनमा अति गर्छ भलो।
दिन्छ कहाँ दिल भुल्न अरू;
छन् अति सुन्दर गाउँहरू॥

आँगन निर्झर बाग सफा;
ताल कुवाँ नद स्वच्छ हवा
कानन जीवन दृश्यहरू;
छन् अति सुन्दर गाउँहरू॥

श्लोक कथा लय गीत-गला;
नृत्य र नाटक वाद्य-कला।
गाउन नाच्न स्वतन्त्र अरू;
छन् अति सुन्दर गाउँहरू॥

जीव जहाँ सब निर्भय छन्;
सीप कला वन आँगन छन्।
सृष्टि र दृष्टि स्वभावहरू;
छन् अति सुन्दर गाउँहरू॥

ती तरुनी तरुना शिशुमा;
शाश्वत जीवन यापनमा।
प्राकृत स्वच्छ छ प्रीतहरू;
छन् अति सुन्दर गाउँहरू॥

पावन लाग्दछ तीर्थसरि;
काँठ गरा घर चित्तभरि।
भुल्न सकिन्छ र मित्रहरू;
छन् अति सुन्दर गाउँहरू॥