
सृजना घिमिरे ढकाल
सितापाइला,काठमाडौं
“हैन म चाँहि तिम्रो गाँउको भाग्य खोल्न आउँदैछु, मेरो स्वागत सत्कार गर्न छोडेर तिभी चैं कता ?”
सडकले छाती फूलाउँदै, शहर झर्दै गरेको बटुवालाई सोध्यो।
हो नी, सडक नै हाम्रो समृद्धीको बाटो हो भन्ने लागेको थियो तर हामी गरीब दुःखी किसानको हैन ,धनाढ्य ब्यपारीहरुको मात्रै रहेछ। “भारी बोक्ने भरियाको रोजी रोटी छैन। स-साना छेउ छाउका चिया पसलेको पसल नै सूक्यो। बारीमा लगाएका मौसमी फलफूल , सागपातले भाऊ पाउँछ भन्ने लागेको थियो बिचौलीयाको बिचैमा फस्यो। स्थानीय सीप डोको ,डालो गुन्द्रीको ठाँउ प्लास्टिकले लियो।” कमाइ गरी खाने बाटो नभए पछि भाग्य मात्र खुलेर के गर्ने ? त्यसैले शहर जाँदैछु काम खोज्न। भाग्यका धर्साहरु निधारमा खुम्चाउँदै, परिवारको पालन पोषण कसरी गर्नु भन्ने पिरले थिचिएको बटुवाको यस्तो कुरा सुनेर, सडक सोचमग्न भयो।
“गाउँ गाउँमा पुगेर विकासको लहर ल्याउछु भनेर हिँडेको त गाउँलेको रोजी रोटीनै खोसेछु कि क्या हो ………….?”





